काठमाडौं । रास्वपाका नवनिर्वाचित सांसद राजु पाण्डेले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह नै भएको स्पष्ट पारेका छन् ।
मङ्गलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले प्रधानमन्त्रीको उम्मेदवारबारे बाहिर चलेका हल्लाहरू पूर्ण रूपमा हावादारी र खुरापाती भएको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरेका हुन् ।
उनले पार्टीको यस निर्णयमा कुनै पनि तहका पदाधिकारीलाई कमा वा फुलस्टप लगाएर दायाँबायाँ कुरा गर्ने छुट नभएको प्रष्ट पारे । रास्वपाले जे बोल्छ त्यही गर्ने दाबी गर्दै उनले पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर बोल्ने अधिकार कसैलाई नभएको बताए ।
बालेन्द्र शाहलाई प्रधानमन्त्री नबनाउने भित्रभित्रै खेल भइरहेको भन्ने हल्लाबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पाण्डेले जनताले अब हावादारी कुरा नसहने चेतावनी दिए । त्यस्ता हल्लाहरूलाई उनले सिधै खारेज गर्दै यसमा कुनै सत्यता नभएको दाबी गरे ।
यो केवल रास्वपाविरुद्ध गरिएको खुरापाती मात्र भएको उनको भनाइ थियो । उनले यस्ता हावादारी गफको पछि नलाग्न सबैलाई आग्रह गर्दै रास्वपा आफ्नो लक्ष्य र एजेन्डामा सिधा र स्पष्ट रहेको जिकिर गरे ।
देशको बिग्रँदो अवस्थाबारे टिप्पणी गर्दै सांसद पाण्डेले राजनीतिक दल र नेताहरूलाई मात्र गाली गरेर समस्याको समाधान नहुने धारणा राखे । देश चलाउने कर्मचारीतन्त्रमा पनि आमूल परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया