काठमाडौं । तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् ।
दलहरुले बुझाएको नाम क्लष्टर अनुसार मिलेको भएमा सार्वजनिक गर्ने र नमिलेमा मिलाउनका लागि समय दिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । ६ वटा दलमध्ये १६ सिट पाएको नेकपा एमालेले आयोगमा बुझाएका समानुपातिक सांसदहरुको नाम हिजै सार्वजनिक गरिसकेको छ ।
फागुन २१ गतेको प्रतिनिधि सभा चुनावबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको सचिवालय बैठकबाट सामानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको हो । ४८ जना महिला र नौजना पुरुषको नाम बुझाएको र परिचय भने आयोगले नै सार्वजनिक गर्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै समानुपातिकमा २० सिट पाएको नेपाली कांग्रेसले पनि आजै नाम टुङ्गो लगाएको हो । १५ जना महिलासहित २० जनाको नाम निर्वाचन आयोगले नै सार्वजनिक गर्ने कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
९ सिट पाएको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले, ४ सिट पाएको श्रम संस्कृती पार्टीले र ४ सिट पाएको राप्रपाले समानुपातिकतर्फका सांसदहरुको नाम आयोगमा पठाइसकेकाे छ ।


प्रतिक्रिया