अभूतपूर्व समर्थन पाएका छौँ, जनअपेक्षाअनुसार अघि बढ्न सक्नुपर्छ : डा. स्वर्णिम वाग्ले

अभूतपूर्व समर्थन पाएका छौँ, जनअपेक्षाअनुसार अघि बढ्न सक्नुपर्छ : डा. स्वर्णिम वाग्ले

यो इतिहास लेख्ने अवसर हो, अनुशासित समाज निर्माण गर्नुपर्छ : डोलप्रसाद अर्याल



काठमाडौं । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बनेपनि गलत कदम भए प्रश्न उठाउनुपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले बाटो बिराउन खोजे बोल्नुपर्ने बताए ।

उनले भने, ‘हामी कानुन बनाउन आएका हौँ । सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्नुपर्छ । हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुर्छ । खबरदारी गर्नुपर्छ ।’

आ-आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दालाई बुलन्द ढङ्गले उठाउनुपर्ने बताए । नीति बहस, विकास निर्माण, सामाजिक, आर्थिक मुद्दालगायतमा ध्यान दिनुपर्ने स्वर्णिमको भनाइ छ ।

बाचा पत्रको थिम थिति बसाल्ने संकल्प रहेको भन्दै उनले नेपालमा अभूतपूर्व समर्थन जनताले दिएकाले जनअपेक्षाअनुसार अघि बढ्नुपर्ने बताए । रास्वपाले काम गरेरै देखाउनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी उपसभापति डोलप्रसाद अर्यालले जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसमा लाग्न नवनिर्वाचित सांसदहरूलाई आग्रह गरे । अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो । इतिहास लेख्ने मात्रै होइन । हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने सायदै हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ,’ अर्यालले सम्बोधनको क्रममा भने ।

साथै, उनले अनुशासित समाज निर्माण गर्नुपर्ने बताए । ‘हामीले एउटा अनुशासित समाज निर्माण गर्नुपर्नेछ । हामीले अस्पताल जाँदा आफ्नो निर्वाचन क्षेत्रको नेता खोज्ने दिनको अन्त्य गर्नुपर्नेछ,’ अर्यालले अघि भने, ‘हामीले स्कुल जाँदा आफ्नो क्षेत्रबाट निर्वाचित भएको नेताको खोजी गर्न छाड्नुपर्नेछ । हामी कर तिर्न जाँदा अन्डरटेबुल गर्नुपर्ने दिनको अन्त्य गर्नुपर्नेछ ।’

अहिलेको गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण रहेको पनि उनले बताए । ‘यो गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण छ,’ उपसभापति अर्यालले भने, ‘हाम्रा हरेक गतिविधिलाई जेनजीहरूले हेर्नुहुनेछ । हामीले त्यसलाई सम्बोधन गरेर जानुपर्नेछ । हामीले आफ्नो इमानदारिता, लगनशीलता र क्षमतालाई राष्ट्र र नेपाली जनतालाई सुम्पिनुपर्नेछ ।’