आजको मौसम सामान्य सुधार : भोलिदेखि फेरि बदली

आजको मौसम सामान्य सुधार : भोलिदेखि फेरि बदली



काठमाडौं । प्रि–मनसुनका कारण पछिल्लो एक हप्ता बदली र वर्षा भइरहेकोमा आज मौसम सामान्य सुधार हुने भएको छ ।

आज साधारणतया सफा नै रहने तर भोलि बिहिवारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज छिटपुटबाहेक धेरैजसो ठाउँमा मौसम सफा रहने अनुमान छ । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रि–मनसुनको समयमा कुनै बेला खुल्ने, फेरि बदली हुनेक्रम रहन्छ ।

भोलिदेखि तीन दिन बदलीसहित वर्षा हुनेछ । तर देशैभर एकैसाथ पानी पर्नेभन्दा पनि कतै पर्ने कतै रोकिने अवस्था रहने मौसमविद् पौडेलले बताए ।

प्रि–मनसुनको समयमा हावाहुरी, चट्याङ र असिनापानी पर्छ । हावाहुरी र असिनापानीले यो बेला असर पुर्याउने भएकाले सचेत रहन उनको आग्रह छ ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक–दुई ठाउँमा आज मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।