सांसदलाई प्रमाणपत्र वितरण गरेर आयोगले राष्ट्रपतिलाई चुनावी प्रतिवेदन बुझाउँदै

सांसदलाई प्रमाणपत्र वितरण गरेर आयोगले राष्ट्रपतिलाई चुनावी प्रतिवेदन बुझाउँदै



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गर्ने भएको छ ।

दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाइने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिए ।

त्यसअघि आज बिहान साढे ११ बजे समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने आयोगले जनाएको छ ।

कान्तिपथको बहादुर भवनमा रहेको आयोगको केन्द्रीय कार्यालयमा ‘क्लस्टर’ अनुसार सांसदहरूलाई प्रमाणपत्र वितरण गरिनेछ ।

प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइसकेपछि नेपालको संविधान, २०७२ को धारा ७६(१) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुल्नेछ ।

चुनावको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा स्पष्ट बहुमत हासिल गरेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४/४ जना सांसद निर्वाचित भएका छन् ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ रास्वपाले १२५ सिट जितेको छ भने नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ तथा राप्रपा र एक स्वतन्त्र उम्मेदवारले एक/एक सिट जितेका छन् ।

प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित भई कुल २७५ सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ ।