मौसममा आजदेखि सुधार

मौसममा आजदेखि सुधार



काठमाडौं । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएसँगै आजदेखि मौसममा सुधार आएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार गएरातिदेखि नै मौसममा सुधार भएको र आज हिजो अस्तिको जस्तो पानी पर्ने छैन ।

तर प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आज पनि मौसममा छिटफुट बदली भने रहनेछ । घाम लाग्ने, फेरि बदली हुने क्रम प्रि–मनसुनमा रहिरहनेछ । अब ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उनले बताए ।

आज देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ ।

राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।