काठमाडौं । जल तथा मौसम विज्ञान विभागले निकट भविष्यमै सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने प्रणाली विकास गर्ने तयारी गरिरहेको छ । विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्गले अहिले तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी भइरहेकोमा अब यसलाई सात दिनसम्म विस्तार गरिने जानकारी दिए ।
उनका अनुसार मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याउने र आफ्नै निर्णय सहयोग प्रणाली बनाउने कार्यक्रम योजना चरणमा रहेको छ ।
विभागले अहिले स्याटेलाइट, राडार र रेडियोसोण्डबाट सङ्कलित तथ्याङ्कका आधारमा पर्वतारोहण, हवाई उड्डयन, कृषि र शहरी क्षेत्रका लागि विशेष पूर्वानुमान सेवा प्रदान गर्दै आएको छ । साथै, बाढीपहिरोको जोखिम न्युनिकरणका लागि २१ वटा पालिकामा प्रभावमा आधारित पूर्वानुमान सेवा शुरू भइसकेको उनले बताए ।
यस्तै विभागका वरिष्ठ डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश रायले देशभर रहेका २ सय ३० वटा जलस्तर मापन केन्द्रमध्ये २ सय ६ वटा स्वचालित भइसकेको र नारायणी बेसिनमा बाढी पूर्वानुमानको शुद्धता झन्डै ९० प्रतिशतसम्म पुगेको जानकारी दिए ।
तर अपर्याप्त प्रविधि, बजेट कटौती, कठिन भूगोल, सीमित जनशक्ति र जलवायु परिवर्तनका कारण बढ्दो अनिश्चितताले पूर्वानुमान सेवालाई चुनौतीपूर्ण बनाएको उनले बताए । आज विश्व मौसम दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।


प्रतिक्रिया