बुबा अर्थात् असल साथी र गुरु

बुबा अर्थात् असल साथी र गुरु



मानिसको जीवनमा केही सम्बन्धहरू यस्ता हुन्छन्, जसको महत्व शब्दमा व्यक्त गर्न असम्भव हुन्छ । उसको जीवन रहुञ्जेल कम महत्वको हुन्छ र जीवन नरहेपछि अमूल्य लाग्न थाल्छ । तीमध्ये सबैभन्दा गहिरो र अमूल्य सम्बन्ध हो — बुबाआमाको । उहाँहरु केवल एउटा अभिभावक मात्र होइन, जीवनका मार्गदर्शक, प्रेरणाको स्रोत र निस्वार्थ प्रेमका प्रतीक पनि हुनुहुन्छ । यो सानो आलेखमा बुबाको पक्षलाई संगाल्ने प्रयत्न गरिएको छ ।

बाल्यकालमा नै बुबाले हाम्रो हात समातेर जीवनको पहिलो पाइला चाल्न सिकाउनु हुन्छ । कहिले कठोर भएर, कहिले ममताले भरिएर उहाँले हामीलाई सही र गलत छुट्याउन सिकाउनु हुन्छ । बुबाको अनुशासनभित्र लुकेको माया शायद हामीले ढिलो गरी मात्र बुझ्न सक्छौं । जब हामी आफैं जीवनका चुनौतीहरूसँग जुध्न थाल्छौं, तब बुबाले दिएको शिक्षा र संस्कारको मूल्य थप स्पष्ट हुँदै जान्छ । हरेक सन्तानका लागि आफ्नो बुबा नै एक असल मित्र, सबैभन्दा असल गुरु र सबैभन्दा ठूलो नेता पनि हो । बुबाले आफ्ना सपना र इच्छाहरूलाई त्यागेर भए पनि सन्तानको भविष्यका लागि दिनरात मेहनत गर्नुहुन्छ । उहाँको दुःख र पसिनामा हाम्रो सफलता लुकेको हुन्छ । सन्तानको सानो उपलब्धिमा पनि उहाँ गर्वले भरिनुहुन्छ, तर आफ्ना दुःख कहिल्यै देखाउनु हुन्न । अझ नेपाली समाजमा बुबालाई पीडा व्यक्त गर्ने छुट छैन, यसका लागि रुने अधिकार पनि छैन । बुबाको यही निस्वार्थ त्यागले उहाँलाई अझ महान बनाउँछ ।

समयसँगै हामी ठूला हुँदै जान्छौं, आफ्नै जीवनमा व्यस्त हुन थाल्छौं । बुबा साथमा होउञ्जेलसम्म उहाँको महत्वलाई हामीले कम आँकिरहेका हुन्छौं । एउटा अभिभावकका रुपमा उहाँले गरेको गाली हामीलाई बिझाउन थाल्छ । हामीलाई लाग्छ, हिजो ताते गराउँदै गर्दाको बुबा अझै पनि हामीलाई सानै सम्झनुहुन्छ र हामीमाथि हैकम चलाउन खोज्नु हुन्छ । अब हामी आफैं सक्षम भएका छौं । हामीलाई यो अवस्थासम्म ल्याई पु¥याउन उहाँले गर्नु भएको त्याग हामी बिर्सिदिन्छौं । जब उहाँ हामीबीच रहनुहुन्न, त्यसबेला बुबाको सम्झना मनमा गहिरो रूपमा आउँछ—उहाँको सल्लाह, उहाँको हाँसो र कहिलेकाहीँ गरेको मायालु हप्की पनि । ती सबै सम्झनाले मनलाई भावुक बनाउँछ र स्मृतिका पुराना पानाहरु एक एक पल्टदै जान थाल्छन् ।

मानिसभित्रको इच्छाशक्ति सबैभन्दा ठूलो शक्ति रहेछ । इच्छाशक्ति भयो भने मानिसले मृत्युलाई पनि जित्न सक्ने रहेछ । मेरो बुबाका हकमा पनि उहाँको इच्छाशक्तिले ठूलो काम ग-यो । २०७४ साल माघ महीनामा उहाँलाई पहिलो हृदयाघात भयो । त्यसपछिका आठ वर्ष यो वा त्यो अस्पताल र यो वा त्यो परीक्षण गर्दा नै उहाँका जीवन बिते । शरीरमा नघोचेको कुनै अंग नै रहेन । रगतका विभिन्न परीक्षण गर्नु नपरेको कुनै हप्ता भएन । उहाँको जीवनमा यस्तो समय पनि आयो, उहाँ अस्पताल जाने कुरा सुन्न नै चाहनु हुन्नथ्यो । पछिल्ला केही वर्ष उहाँ केवल आफ्नो दृढ इच्छाशक्तिका बीच जीवित रहनु भयो । उहाँमा यति आत्मबिश्वास बढेको थियो, लाग्थ्यो, केही वर्ष अब उहाँका अगाडि मृत्युले चियाउने पनि छैन । तर आकस्मिक रुपमा त्यो दिन आएरै छाड्यो ।

शायद मानिसलाई मृत्युको केही संकेत हुन्छ । त्यो दिन उहाँले बमन गर्नु भयो । डाक्टरहरुले बमन भएमा तत्काल अस्पताल ल्याउन पहिले पनि सुझाएका थिए । मुटुका बिरामीले बमन गर्नु शुभ संकेत होइन रे छ । बिहानै बमन भए पनि उहाँ केही समय सदा झैं निस्फिक्री देखिनु भएको थियो । केही समयदेखि अस्पतालको नाम सुन्न नचाहनु हुने उहाँले डाक्टरलाई जचाउने कुरामा इन्कार गर्नु भएन । सधैंभन्दा स्वाभाविक रुपमा अस्पतालमा जानु भएको केही समयमै आकस्मिक रुपमा उहाँले अनन्तयात्रा रोज्नु भयो । मेरो ममीले भन्नु भए जस्तै उहाँले हामीलाई झुक्याएर जानुभयो ।

मेरो जीवनको सबैभन्दा पीडादायक क्षण त्यसबेला बन्योे, जब बुबाको मृत्यु हुने समय नजिकिँदै थियो । अस्पतालको त्यो कोठा, औषधिको गन्ध, र वरिपरि फैलिएको गम्भीर वातावरण आज पनि मेरो मानसपटलमा घुमिरहेको छ । त्यसबेला बुबाले आफ्नो हात उठाएर मलाई नजिक बोलाउनु भएको थियो । उहाँका आँखाले केही भन्न खोजेको झल्को दिन्थ्यो, तर ढोकामा उभिएर चिह्याइरहेकी मलाई दुर्भाग्यवश डाक्टरले भित्र जान अनुमति दिनु भएन । त्यसपछि मैले मेरो जीवित बुबालाई कहिल्यै भेट्न पाइनँ । उहाँ आकस्मिक रुपमा सदाका लागि अनन्तयात्रामा निस्कनु भयो ।

त्यो क्षण मेरो मनमा सधैंका लागि एउटा अधुरो प्रश्न बनेर बस्यो— बुबाले मलाई के भन्न चाहनु भएको थियो होला ? उहाँको त्यस्तो के अन्तिम सन्देश थियो ? के उहाँले केही महत्वपूर्ण कुरा सुनाउन खोज्नु भएको थियो वा केवल मलाई अन्तिम पटक हेर्न र खस्रा हातले समातेर कोमल माया दर्शाउन चाहनु भएको थियो ? वा आफ्नी पे्रयसी अर्थात् मेरी ममीका बारेमा केही भन्न चाहनु भएको थियो ? यी प्रश्नहरू मेरो मनमा बारम्बार खेलिरहेका छन् । जति समय बित्दै जान्छ, मनमा उति नै कल्पना आउने गर्छ — शायद उहाँले मलाई जीवनका लागि हिम्मत दिन खोज्नुभएको थियो, वा परिवारको जिम्मेवारी सम्हाल्न सम्झाउन चाहनुभएको थियो । शायद उहाँ केवल “म तिमीलाई माया गर्छु” भन्न चाहनुहुन्थ्यो । यी सबै अनुमानहरू हुन, तर ती सबैमा एउटा कुरा समान छ — बुबाको मप्रति माया, चिन्ता वा भरोसा थियो ।

त्यो दिन म उहाँको नजिक पुग्न नपाएको पीडा अझै पनि मनमा छ । तर मैले बुझ्न थालेको छु, कहिलेकाहीँ जीवनमा सबै कुरा बुझ्न वा सुन्न पाइँदैन । केही कुरा अधुरै रहन्छन्, र ती अधुरोपनमै पनि एउटा गहिरो अर्थ लुकेको हुन्छ । आज पनि जब म बुबालाई सम्झन्छु, म उहाँले भन्न खोजेको कुरा आफ्नै तरिकाले महसुस गर्ने प्रयास गर्छु । म उहाँको माया, उहाँको आशा र उहाँको विश्वासलाई आफ्नो जीवनमा उतार्ने कोसिस गर्छु । सायद यही नै उहाँको सन्देश थियो—आफ्नो जीवनलाई साहसका साथ अघि बढाउनू, परिवारलाई माया गर्नू, र कहिल्यै हार नमानी अगाडि बढिरहनू ।

मलाई थाहा छ, त्यो अधुरो क्षण अब कहिल्यै पूरा हुँदैन, तर त्यसले मलाई अझ बलियो बनाएको छ । बुबाको सम्झनाले आज पनि मलाई मार्गदर्शन गर्छ, र उहाँको अधुरो बोलाइ मेरो जीवनको एउटा अमूल्य प्रेरणा बनेको छ । मैले उहाँको अन्तिम सन्देश त बुझ्न पाइनँ तर उहाँ जीवित हुदै उहाँले राख्नु भएको आकांक्षा थोरै भए पनि पूरा गर्न सकेकी छु । उहाँको अन्तिम इच्छा मेरी आमालाई राम्रो उपचारका लागि विदेश लैजाने थियो । समय र परिस्थितिले उहाँलाई साथ दिएन । बुबाको निधनपछि उहााको त्यो इच्छा मेरो लागि एउटा कर्तव्य र जिम्मेवारी बन्यो । मैले उहाँको सपना पूरा गर्ने अठोट लिएँ । उहाँ नरहनु भएको एक महीनाका बीचमा मैले आमालाई भारतको मेदान्ता अस्पतालमा उपचारका लागि लगेर बुबाको अन्तिम इच्छा पूरा गर्न सकेँ । त्यो क्षण मेरो लागि अत्यन्त भावुक थियो । एकातिर बुबाको अभावको पीडा थियो भने अर्कोतिर उहाँको सपना पूरा गर्न सकेको सन्तुष्टि पनि थियो ।

आज बुबाको ४५ औं पुण्यतिथि । बुबा केवल हाम्रो अभिभावक मात्र होइन, हाम्रो मार्गदर्शक, हाम्रो साहस र हाम्रो प्रेरणा हुनुहुन्थ्यो । उहाँले सधैं हामीलाई सही बाटोमा हिड्न, इमानदारीका साथ जीवन जिउन र कठिनाइसँग नडराउन सिकाउनु भयो । यस पुण्यतिथिमा उहाँप्रति भावपूर्ण श्रद्धा व्यक्त गर्दै म यो वाचा गर्छु — तपाईले देखाउनुभएको बाटोमा हिड्ने छु, तपाईका अधूरा सपना पूरा गर्ने प्रयास गर्नेछु, र तपाईको माया र शिक्षालाई कहिल्यै बिर्सने छैन ।
अलबिदा बुबा !