काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको ३८ लाखभन्दा बढी रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकसँग सम्बन्धित पाँच जना पक्राउ परेका छन् । सरकारी अस्पतालको आम्दानी नक्कली भौचरमार्फत अपचलन गरिएको आरोपमा प्रहरीले डाक्टरदेखि बैंकका कर्मचारीसम्मलाई नियन्त्रणमा लिएपछि स्थानीय तहको आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ ।
पक्राउ पर्नेमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डे, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमलप्रसाद भण्डारी, अस्पतालकी फार्मेसी सहायक कर्मचारी रूक्सना खातुन तथा नेपाल बैंककै कर्मचारी विक्रम के.सी. रहेका छन् ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट संकलन भएको रकम बैंकमा जम्मा भएको देखाउन १२९ वटा भौचर तयार गरिएको थियो । तर, ती भौचरअनुसारको ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैंक खातामा दाखिला नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो प्रकरण अस्पतालको लेखा परीक्षणका क्रममा बाहिर आएको हो । अडिटका क्रममा फाइलमा बैंक भौचर भेटिए पनि सोही बराबरको रकम बैंक खातामा नरहेको देखिएपछि नगरपालिकाले प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो । त्यसपछि शिवराज नगरपालिकाका तर्फबाट वैशाख ४ गते औपचारिक उजुरी दर्ता गरिएको थियो ।
प्रहरीले अस्पतालका जिम्मेवार कर्मचारी र बैंकका कर्मचारीबीच मिलेमतो भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ । कपिलवस्तु प्रहरीका अनुसार सरकारी अस्पतालको रकम नक्कली भौचरमार्फत संगठित रूपमा हिनामिना गरिएको देखिएको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नेत्रप्रसाद बेलबासेले समेत वैशाख २७ गते ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी जाहेरी दिएका थिए । त्यसपछि अनुसन्धान थप तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ । नगरपालिकाले आर्थिक अनियमिततामा संलग्न अन्य व्यक्तिको भूमिकासमेत खोजी भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार घटनामा थप तीन जना फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको र पक्राउ परेकामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद प्राप्त भएको छ ।


प्रतिक्रिया