पार्टी सदस्यता खोसिएकी विद्या भण्डारी एमालेको प्रमुख अतिथि

पार्टी सदस्यता खोसिएकी विद्या भण्डारी एमालेको प्रमुख अतिथि


ग्लोब नेपाल
216
Shares

काठमाडौं । एमालेले ३३ औं मदन–आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएको छ । पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा मदन–आश्रित सभा गरेको हो ।

पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले बक्ता बनाएको यो पहिलो कार्यक्रम हो । ‘पार्टीले प्रमुख अतिथिका रुपमा आउन निम्तो दिएको थियो, त्यसैअनुसार सम्माननीयज्यु जानु भएको हो,’ भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने । गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो ।

एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी भण्डारीका गतिविधि अगाडि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए ।

ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायतले साथ दिएका थिए । तर आज तिनै पौडेल र पोखरेलहरूले भण्डारीलाई प्रमुख अतिथि बनाएर स्मृति दिवस मनाएका छन् । जबकि पार्टी सदस्यता नवीकरणमा रोक लगाएर एमालेको राजनीतिमा आउन नदिने एमालेको निर्णय फेरिएको छैन ।

पूर्वराष्ट्रपति भण्डारीले पनि प्रमुख अतिथि बनेर एमालेले गर्नुपर्ने कामहरुको फेहरिस्त प्रस्तुत गरेकी छन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग जिवराज आश्रितको सम्झनामा गर्दै भण्डारीले एमाले पंक्तिलाई निर्देशन नै दिए । ‘नेकपा एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

अब पार्टीले जनविश्वासलाई सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्दछ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘कार्यकर्ताहरु जनताको बीचमा पुग्नुपर्दछ । जनताको दुखसुखमा सहभागी हुनुपर्छ । र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्छ ।’