काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै मंगलवार विरोध प्रदर्शन गर्ने भएको छ।
सर्वोच्च अदालत प्रशासनले दर्ताका लागि आएको निवेदनलाई अस्वीकार गरेको विरोधमा बारले आज दिउँसो १:१५ बजे बार प्रांगणमा लालटिन बालेर विरोध प्रदर्शन गर्ने भएको हो ।
लालटिन बालेर प्रशासनको अनपेक्षित क्रियाकलापको विरोध गरिनुका साथै न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गरिने बताइएको छ । बारले सर्वोच्च अदालतमा परेको दरपीठ उपरको निवेदनलाई बिना कुनै कारण दर्ता नगरी राख्नुलाई प्रशासनको क्षेत्राधिकार बाहिरको काम र न्याय मार्गमा उत्पन्न अवरोधका रूपमा ठहर गरेको छ।
न्याय प्रशासनको अन्तिम जिम्मेवारी सम्हाल्ने कायममुकायम कामु प्रधानन्यायाधीशको आदेशलाई समेत पालना नगर्ने प्रशासनको यो रवैया असाधारण र अप्राकृतिक भएको बारको भनाइ छ। यस प्रकारको कदम विस्मृतिमा नजाने ऐतिहासिक भूल भएको र यसमा प्रचलित कानुन आकर्षित हुने स्पष्ट धारणा बारले सार्वजनिक गरेको छ।


प्रतिक्रिया