काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यसअघि विशेष अदालतले गरेको थुनछेक आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि विशेष अदालतले गत १६ पुसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतले अभियोगसँग सम्बन्धित प्रमाण तथा परिस्थितिलाई आधार मानेर उनलाई थुनामा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।
सर्वोच्च अदालत प्रशासनका अनुसार इजलासले विशेष अदालतको आदेश उल्ट्याउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो । यद्यपि, आदेशको पूर्णपाठ भने आउन बाँकी रहेको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरूमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै थमौती गर्न ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ ।
त्यसैगरी, भूमि आयोग कास्कीको अध्यक्षमा खमबहादुर पुनलाई नियुक्त गराउन थप २५ लाख रुपैयाँको लेनदेन गरिएको अभियोग पनि उनीहरूमाथि लागेको छ । सोही आधारमा अख्तियारले कुल ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
यस प्रकरणमा घुस दिने पक्षका रूपमा सुजन लामाविरुद्ध पनि समान बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।


प्रतिक्रिया