काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउने अभियानमा आफूहरू कुनै पनि राजनीतिक कारबाही निलम्बन भोग्नसमेत तयार रहेको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको जबाफदेहिता सुनिश्चित गर्न आफूहरूको विरोध निरन्तर रहने स्पष्ट पारे ।
साम्पाङका अनुसार विरोधका कारण आफूहरूलाई निलम्बनमा पारिए पनि त्यसलाई स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै उनले संसदीय अभ्यास र विधिसम्मत प्रक्रियाको रक्षा आवश्यक रहेको धारणा राखे ।
उनले सरकारसँग प्रश्न सोध्न नदिने गरी गरिएको कुनै पनि निर्णयप्रति आफूहरूको असहमति रहेको बताए । संसद् सञ्चालनका क्रममा सभामुखले गरेको रुलिङको पनि आफूहरूले विरोध जनाएको उनले जानकारी दिए ।
श्रम संस्कृति पार्टी का अध्यक्षसमेत रहेका साम्पाङले संसद् र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन आवश्यक परे व्यक्तिगत राजनीतिक क्षति स्वीकार गर्न तयार रहेको दाबी गरे ।
उनका अनुसार सुकुम्वासी समस्या, लिपुलेक क्षेत्रको विषय तथा वैदेशिक ऋण जस्ता सार्वजनिक सरोकारका विषयमा सरकारले स्पष्ट जवाफ नदिएको गुनासो छ ।
सरकारले जनताका प्रश्नलाई बेवास्ता गरिरहेको आरोप लगाउँदै उनले अन्ततः यस्ता गैरजिम्मेवार प्रवृत्तिको मुल्यांकन जनताले नै गर्ने टिप्पणी पनि गरेका छन् ।


प्रतिक्रिया