मीनबहादुर गुरुङले दान गरेको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

मीनबहादुर गुरुङले दान गरेको जग्गा फिर्ता गर्ने एमालेको निर्णय


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले अनुदानमा बनाइदिने प्रस्ताव गरेको कार्यालय भवन नलिने निर्णय गरेको छ । जग्गासहित भवन निर्माण गरिदिने गुरुङ दम्पत्तिको प्रस्तावलाई पार्टीले धन्यवादसहित फिर्ता गर्ने भएको हो ।

सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार अब एमालेले बल्खुस्थित मदननगरमै नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने तयारी अघि बढाएको छ । प्रस्तावमा भनिएको छ, ‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई धन्यवादसहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने ।’

यसअघि गुरुङले दानमा दिने भनेको भवनको शिलान्यास २०८१ असोजमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङ दम्पत्तिले संयुक्त रूपमा गरेका थिए । तर, उक्त भवन निर्माणको काम भने अघि बढ्न सकेको थिएन ।

एमाले सचिवालयले अब बल्खुमै केन्द्रीय कार्यालय निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । मदन–आश्रित दिवसको अवसरमा महासचिव शंकर पोखरेलले समेत बल्खुमै नयाँ कार्यालय निर्माण गरिने घोषणा गरिसकेका छन् ।

व्यवसायी गुरुङबाट जग्गा दान लिएर उनकै सौजन्यमा भवन निर्माण गर्ने निर्णय सार्वजनिक भएपछि एमालेभित्रै विवाद चर्किएको थियो । सोही विषयमा प्रश्न उठाउने नेतृहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि पार्टीले अनुशासनको कारबाहीसमेत गरेको थियो ।