काठमाडौं । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औं स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ।
विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिएको छ । बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए । विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा रामवरण यादवले गर्ने तय भएको पनि उनले बताए।
विधान महाधिवेशनका लागि सबै शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएबमोजिमका प्रतिनिधिहरू काठमाडौँ आइपुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए।
२०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। नेपालका सञ्चारकर्मीलाई संगठित गरी श्रमजीवी पत्रकारहरूको पक्षमा वकालत गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि हो।


प्रतिक्रिया