काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरूले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गरेका हुन् ।
अध्यक्ष घिसिङले जनताले विश्वास गरेको पार्टीको सरकारका हरेक गतिविधि सफल होस् भन्ने चाहना आफूहरूको रहे पनि सरकारले सोही अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले जनतालाई निराश बनाउने खालको गतिविधि सरकारबाट भई रहे प्रतिवादमा उत्रने चेतावनी समेत दिए ।
अध्यक्ष घिसिङले जनताले नयाँ पार्टीको पनि विकल्पको रूपमा आफ्नो पार्टीलाई लिएको दाबी समेत गरे ।
उनले भने ‘पुराना पार्टीका धेरै साथीहरू उज्यालो नेपाल पार्टीप्रति आकर्षित भएर आउँदै हुनुहुन्छ । र नयाँ पार्टीका साथीहरू पनि, पार्टीहरू पनि हामीसँग जोड्दै छौ । अब यो जुन हिसाबले नेपाली जनताले एउटा सशक्त विकल्पको रूपमा नयाँ विकल्पको रूपमा पुरानाको प्रतिस्थापन गरेर नयाँलाई दुई तिहाइको मत दिएको छ ।’
अध्यक्ष घिसिङले सरकारले विद्युत्मा कर लगाउने व्यवस्था बजेटमा ल्याएको भन्दै आपत्ति जनाए । उनले मुलुकको समृद्धिका लागि पानी, कृषि र पर्यटनको क्षेत्रमा केन्द्रित भएर आफूहरूले काम गर्न चाहेको पनि बताए ।


प्रतिक्रिया