काठमाडौं । काँग्रेस नेता अर्जुननरसिंह केसीले मुलुक निर्वाचित अधियानकवादको बाटोतर्फ उन्मुख भएको बताएका छन् । शनिबार पछिल्लो राजनीतिक अवस्थाबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै केसीले निर्वाचित अधिनायकवादको स्पष्ट संकेत देखिन थालेको बताएका हुन् ।
केसीले सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै बहुमतको दम्भले मात्र राज्य सञ्चालन नहुने उल्लेख गरे । केसीले एकपछि अर्को गर्दै संसदीय प्रक्रिया र पद्धतिमाथि निरन्तर र जबरजस्त आक्रमण भइरहेको भन्दै त्यसलाई दुर्भाग्यको संज्ञा दिए ।
केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पटकपटक आर्थिक विधेयकमा हेरफेर गरेर संसद नियमावली, मर्यादा र विश्वव्यापी प्रचलनको स्पष्ट उल्लंघन गरेको आरोप लगाए । मन्त्रीको उक्त गतिविधि सार्वभौम संसद्को विशेषाधिकारमाथिको नाङ्गो हस्तक्षेप भएको टिप्पणी केसीको छ ।
‘एकपटक प्रस्तुत भइसकेको विधेयक आर्थिक होस् वा अन्य संसद्को सम्पत्ति बन्छ । त्यसलाई संसदीय प्रक्रियाबाहिर कार्यकारी आदेशबाट फिर्ता, परिवर्तन वा रोक्न मिल्दैन,’ केसीले लेखेका छन्, ‘यो संसदीय नियमावली, मर्यादा र विश्वव्यापी प्रचलनको स्पष्ट उल्लंघन हो । यो सार्वभौम संसद्को विशेषाधिकारमाथिको नाङ्गो हस्तक्षेप हो ।’


प्रतिक्रिया