विश्वप्रकाश–सिटौलाबीच अर्थपूर्ण भेट

विश्वप्रकाश–सिटौलाबीच अर्थपूर्ण भेट


ग्लोब नेपाल
594
Shares

विर्तामोड । विशेष महाधिवेशनयता नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक दूरी कम गर्ने प्रयासस्वरूप उपसभापति विश्वप्रकाश शर्मा र प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाबीच मंगलबार झापामा अर्थपूर्ण भेटवार्ता भएको छ।

शर्माका काका याम भण्डारीको निधनको चौथो दिन धुलाबारीमा भएको उक्त भेटलाई कांग्रेसभित्र सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। दुवै नेताबीच करिब आधा घण्टा एक्लाएक्लै संवाद भएको र समसामयिक राजनीतिक अवस्था तथा पार्टीभित्रको एकताबारे छलफल भएको बताइएको छ।

कांग्रेस संस्थापनइतरले दुई दिनअघि विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्व र विभिन्न धारबीच संवाद तथा सहकार्य बढाउन दबाब दिएको सन्दर्भमा भएको हो।

पछिल्लो समय कांग्रेस नेताहरूबीच प्रत्यक्ष संवाद कमजोर बन्दै गएको र कतिपय विषय इमेल तथा ह्वाट्सएपमै सीमित भएको चर्चा भइरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विशेषा महाधिवेशनयता कांग्रेसभित्र संस्थापन र संस्थापन इतरबीच नेतृत्व, संगठन विस्तार तथा भावी रणनीतिलाई लिएर मतभेद देखिँदै आएको छ। यद्यपि पछिल्ला दिनमा पार्टीलाई आगामी निर्वाचनका लागि एकजुट बनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ।

यही पृष्ठभूमिमा भएको विश्वप्रकाश–सिटौला भेटलाई झापाको मात्रै नभई कांग्रेसको राष्ट्रिय राजनीतिमा समेत चासोका साथ हेरिएको छ।