जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच वर्षयताकै कम

जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच वर्षयताकै कम



सन् २०२६ को पहिलो ६ महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.० प्रतिशतले गिरावट आएको छ ।

सरकारी तथ्याङ्कअनुसार विगत पाँच वर्षमा पहिलो ६ महिनाको अवधिमा पर्यटक संख्या घटेको यो पहिलो पटक हो । जापान राष्ट्रिय पर्यटन संगठन (जेएनटीओ) ले बुधवार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार यस वर्षको पहिलो ६ महिनामा करिब २ करोड ११ लाख विदेशी नागरिकले जापान भ्रमण गरेका छन् ।

पर्यटकको कुल संख्यामा गिरावट आउनुमा मुख्य भूमि चीनबाट आउने आगन्तुकहरूको संख्यामा भएको उल्लेख्य कमीलाई प्रमुख कारण मानिएको छ । तथ्याङ्कअनुसार चीनबाट आउने पर्यटकको संख्या ५६.४ प्रतिशतले घटेर २० लाख ६० हजारमा खुम्चिएको छ ।

गत नोभेम्बरमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानका बारेमा दिएको विवादास्पद अभिव्यक्तिका कारण चिनियाँ पर्यटकको संख्यामा निरन्तर गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

संगठनकाअनुसार जुन महिनामा मात्र ३१ लाख ५० हजार विदेशी पर्यटकले जापानको भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.८ प्रतिशतले कम हो । यो लगातार तेस्रो महिनाको गिरावट हुनुका साथै सन् २०२२ जनवरी यताकै सबैभन्दा ठूलो गिरावट हो ।