नयाँ दिल्ली । प्रश्नपत्र चुहावट विरुद्ध कक्रोच जनता पार्टीले सुरु गरेको आन्दोलनसँग अन्ततः भारतको केन्द्रीय सरकार झुकेको छ । नरेन्द्र मोदी नेतृत्वको सरकार जेन जीको दबाबसामु झुक्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।
उनले सामाजिक सञ्जालमा एक्समा एक सन्देशमार्फत आफ्नो राजीनामाको घोषणा गरेका हुन । उक्त सन्देशमा उनले आफूले चार दशकभन्दा लामो समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारका लागि आफूलाई समर्पित गरेको उल्लेख गर्न छुटाएका छैनन ।
‘एक सुदृढ, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै बलियो राष्ट्रको आधारस्तम्भ हो भन्ने मेरो सदैव विश्वास रहिआएको छ। म देशका युवाहरूको आकाङ्क्षा, भावना र जायज अपेक्षाहरूको उच्च सम्मान गर्दछु। भारतको युवा पुस्ताका सपनाहरू साकार पार्नु हाम्रो सामूहिक राजनीतिक तथा सामाजिक जीवनको एक नैतिक प्रतिबद्धता रहिआएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूको दूरदर्शी नेतृत्वमा राष्ट्रको सेवा गर्ने अवसर प्राप्त भएकोमा म उहाँप्रति कृतज्ञता व्यक्त गर्दछु,’ उनले राजिनामा घोषणा गर्दै भनेका छन् ।
यहाँ यो उल्लेख गर्नु सान्दर्भिक छ कि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आफ्नो राजीनामा बुझाएका छन्। आफ्नो राजीनामामा उनले उल्लेख गरे अनुसार राष्ट्रिय एकता कायम राख्न, जन्तर मन्तर वा देशभरको परिस्थितिको फाइदा राष्ट्रविरोधी तत्वहरूले उठाउन नपाऊन् भन्ने सुनिश्चित गर्न तथा भारतीय विद्यार्थीहरू कानुनी झमेलामा नपरी आफ्नो पढाइ र करियरमा ध्यान केन्द्रित गर्न सकून् भन्ने उद्देश्यले उनले यो कदम उठाएका जनाएका छन् ।
शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे अभिजित दीपकको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ।
‘संसार झुक्छ, मात्र त्यसलाई झुकाउन सक्ने क्षमता भएको व्यक्तिको आवश्यकता पर्छ,’ कक्रोचका संस्थापक अभिजित दिपकले भने, ‘पहिले भनिन्थ्यो कि यो सरकारको पालामा राजीनामा हुँदैन तैपनि राजीनामा भयो। मानिसहरू म कहिलेसम्म अडिग रहन्छु भनेर सोध्थे, ३६ दिनसम्म मलाई हरेक दिन सोधिन्थ्यो कि राजीनामा नहुने हो कि भनेर तर सरकार झुक्यो। उनीहरू भन्थे कि क्रान्ति हुने छैन, तैपनि क्रान्ति भयो नै।’
यतिखेर राजधानी शहर नयाँ दिल्लीको जन्तर मन्तरमा अभिजित दिपके र उनका समर्थकहरू शिक्षा मन्त्री प्रधानको राजीनामाको खुसी मनाउँदै छन्। विरोध प्रदर्शन स्थलमा हर्षोल्लासपूर्ण वातावरण रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।


प्रतिक्रिया