बेइजिङ । चीनले याङत्जे नदीमुनि आफ्नो पहिलो उच्च गतिको रेलमार्ग सुरुङको निर्माण कार्य पूरा गरेको छ। यो कोसेढुङ्गाले देशको भित्री भूभागलाई तटीय क्षेत्रसँग जोड्ने रेलमार्ग निर्माणको दिशामा एउटा महत्त्वपूर्ण फड्को मारेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छ न।
नयाँ सुरूङ रेलमार्थ ११.९ किलोमिटर लामो रहेको छ । चाइयुआनबा याङत्जे नदी रेलमार्ग सुरुङले चोङछिङका दुई जिल्लाहरूलाई जोड्छ। साथै, यो दक्षिण(पश्चिमी विशाल सहर चोङछिङ र दक्षिण पूर्वी फुजियान प्रान्तको सियामेन सहरबीचको उच्च गतिको रेलमार्गको एक मुख्य कडी बन्नेछ।
पहाड, आवासीय क्षेत्र र नदीको पिँध मुनिबाट सुरुङ खन्ने क्रममा यस परियोजनाले सहरको भौगोलिक बनावट र घना सहरी परिवेशका कारण उत्पन्न विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको थियो।
सरकारी समाचार संस्था सिन्ह्वाले शनिबार जनाए अनुसार निर्माण कम्पनी चाइना रेलवे १४ औँ ब्युरो ग्रुपुले ‘चाङजियाङ’ (याङ्त्जे नदीको चिनियाँ नाम) नामक विशेष बोरिङ मेसिनको प्रयोग गरेको थियो। यो मेसिनले नदीको पिँधमुनि रहेका विभिन्न प्रकारका चट्टानका तहहरू काट्दै अघि बढ्दा उच्च पानीको चापलाई समेत थेगेको थियो ।
चोङकिङ– सियामेन रेलमार्ग, जसका केही खण्डहरू सञ्चालनमा आइसकेका छन्, बेइजिङले सन् २०३० सम्ममा व्यापक रूपमा पूरा गर्ने लक्ष्य राखेका १६ वटा उच्च गतिको रेल कोरिडोरहरूमध्ये एक हो। यसको उद्देश्य देशका प्रमुख सहरी क्षेत्रहरूबीचको सम्पर्क सञ्जाललाई सुदृढ पार्नु हो।
आठवटा उत्तर दक्षिण र आठवटा पूर्व पश्चिम मार्गहरू मिलेर बनेको यो सञ्जाल उत्तर पश्चिमको गान्सु प्रान्तदेखि दक्षिणी तटमा रहेका हङकङ र शेन्जेन सहरहरू तथा उत्तर पूर्वको यातायात केन्द्र हार्बिनसम्म फैलिएको छ।
सरकारी स्वामित्वको चाइना रेलवे ग्रुपका अनुसार मार्च महिनासम्ममा यस सञ्जालको निर्माण कार्य ८४ प्रतिशत पूरा भइसकेको थियो। ‘हामी आगामी पाँच वर्षभित्र हाम्रो रेल सञ्जालको क्षमता र संरचनामा अभिवृद्धि गर्नेछौं,’ राष्ट्रिय रेलवे प्रशासनका उप प्रमुख वाङ किमिङले पत्रकार सम्मेलनमा बताएका छन् ।
‘यसमा आठ ठाडो र आठ तेर्सो उच्च गतिको रेल सञ्जालको निर्माण कार्यलाई तीव्रता दिने, प्रमुख क्षेत्रहरूबीचको सम्पर्क बढाउने र मुख्य सहरी क्षेत्रहरूमा यात्रुहरूको आवतजावतलाई सहज बनाउने कार्यहरू समावेश छन्,’ उनले अगाडी भने ।
गत वर्षको अन्त्यसम्ममा चीनको द्रुत गतिको रेल सञ्जाल ५० हजार किलोमिटरभन्दा बढी पुगिसकेको छ र सरकारले आगामी पाँच वर्षभित्र यसलाई करिब ६० हजार किलोमिटर पुर्याउने लक्ष्य राखेको छ। द्रुत गतिको रेल सञ्जाल विस्तार गर्ने यसै अभियानका कारण पानीमुनि लामो दूरीका रेल सुरुङहरू निर्माण हुने क्रम बढिरहेको छ।
यसमा सांघाईको चोङमिङ टापुलाई जियाङ्सु प्रान्तको ताइकाङसँग जोड्ने एउटा प्रमुख मार्ग पनि समावेश छ, जसको निर्माण कार्य यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ।
यसैबीच, दक्षिणी प्रान्त ग्वाङडोङमा शेन्जेन–जियाङमेन सम्पर्क मार्गको एक हिस्साका रूपमा पर्ल नदीको मुहान मुनि विश्वकै सबैभन्दा गहिरो अर्थात ११६ मिटर वा ३८० फिट गहिराइमा पुग्ने पानीमुनिको द्रुत गतिको रेल सुरुङ निर्माण भइरहेको छ।


प्रतिक्रिया