भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी क्षेत्र तथा नुवाकोट, धादिङ आसपास त्रिशुली क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपत्तिले सिङ्गो देशलाई नै स्तब्ध तुल्याएको छ । भोटेकोशीमा आकस्मिक आएको पानीको बहाव बाढी हो वा विपत्ति ? यसबारे पनि वहस भइरहेकै छ । नदीमा बढेको पानीको वहावलाई हामीले बाढी भनिरहे पनि यो महाप्रलय हो । पानी नै नपरी बाढी आउँदैन र बाढी आउँदा पानीको सतह क्रमिक रुपमा बढ्छ, एकैपटक पहिरो जसरी तीन चार तलामाथिबाट पानी खस्दैन । यो महाविपत्ति हो । यसलाई जे भने पनि यसले यस क्षेत्रको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ । यसले नदी किनारका बस्तीहरू मात्र बगाएको छैन, कैयौँ परिवारका सपना, आशा र सुखद भविष्य समेत क्षणभरमै बगाएको मात्र होइन, लतारेर लगेको छ ।
बाढी पहिले पनि आउँथ्यो । सानो ठूलो क्षति गरेर जान्थ्यो । यसपटक माथिबाट बाढी आउँदै गरेको सूचना पाउँदा स्थानीय नागरिकले पुरानै खालको बाढीको कल्पना गरे । तर यसपटक त्यस्तो भएन । त्यसकारण मानिसले अनुमान नै नगरेको विध्वंश भएको छ । केही सेकेण्डका बीचमा घर, पसल, सडक, पुल, सवारी साधन तथा अन्य भौतिक संरचनाहरू ध्वस्त भएका छन् । कतिपय परिवारले आफ्ना प्रियजन गुमाएका छन् । कतिपयले आफ्ना आफन्तजनको खोजीमा आँसु थाम्दै बाटो हेरेर बसेका छन् । बाढीपहिरोले रसुवासँगै नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पनि ठूलो क्षति पु-याएको छ । मुख्य सडक तथा पुलहरू भत्किँदा कतिपय बस्तीको सञ्चार र यातायात सम्पर्क पूर्ण रूपमा टुटेको छ । हजारौँ मानिसहरू विस्थापित भएका छन् र ठूलो सङ्ख्यामा नागरिकहरू अझै वेपत्ता रहेको दारुण अवस्था छ ।
घटनाको सात दिन बित्दा पनि राज्यका उद्धार, राहत र वसोवासका काम प्रचारमा मात्र सीमित छन् । जो घटनाका पीडित परिवार छन् वा घटनामा परेर बाँचेका पीडित छन्, उनीहरुलाई मात्र सत्य थाहा छ: सरकारले के गरिरहेको छ ? जलविद्युत आयोजनाको सुरुङमा फसेका हजारौं प्राविधिक र श्रमिकहरुको उद्धार गरिरहेको प्रचारवाजीमा लागेको सरकारले सात दिनपछि आएर हात उठाएको छ : अब सरकारले सकेन, आयोजनाहरु आफैं उद्धारमा लाग । सरकारको यो भन्दा निर्लज्ज जवाफ के हुन सक्छ ?
सरकारले काम गरिरहेको छ र आफ्ना प्रियजन फर्कने छन् भन्ने आशामा बसेका परिवारजनलाई यो भन्दा पीडादायी समाचार के हुन सक्छ ? गृहमन्त्री साबेल बोकेर टनेल खोस्रन गएको भिडियो देखेर रमाइरहेका सामाजिक सञ्जालका अभियन्ताहरु अब के जवाफ दिन्छन् ? यो नागरिक जीवनमाथिको निर्लज्ज खेलवाड हो । दुःखका समय सरकारको आलोचना गर्नु उचित होइन । तर सरकार आफैंले यो परिस्थिति सिर्जना गरेको छ । घटनास्थलमा अहोरात्र सुरक्षाकर्मीहरु खटेका छन् । उनीहरुको जोश र जाँगरको सम्मान गर्नुपर्छ । तर उनीहरु सबै प्राविधिक थिएनन् र होइनन् । सरकारलाई सहयोग गर्न देशभित्रका सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएका थिए । प्राविधिक रुपमा सहयोग गर्ने प्रस्ताव राख्ने छिमेकी लगायतका अन्य मित्र राष्ट्रहरु थिए । तर सरकारले कसैलाई सुनेन । सुरुङभित्र कोही छन् वा भेल निस्कदै गर्दा उनीहरु पनि बगे वा भित्रै निस्सासिएर जीवन गुमाए ? यसको जवाफ सरकारसँग छैन ।
परिवारका प्रियजन गुमाउनुको पीडासँगै रहने बास र खाने गाँस खोसिएको यस कठीन घडीमा रसुवा र आज सम्पूर्ण देशवासीको सहयोग, सहानुभूति र भरोसाको पर्खाइमा छ । प्राकृतिक कोपभाजनमा परेका नागरिकहरूका निम्ति तत्काल आवश्यक मानवीय सहयोग तथा राहत सामग्री, उद्धार र पुनरोत्थान केवल राज्यको मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व हो । यसका लागि देशभित्र रहेका नेपाली मात्र होइन, विदेशमा रहेका नेपाली र अरु देशका सरकार र नागरिक समेत तयार छन् । तर यतिखेर प्रभावित क्षेत्रमा सरकारी निकाय तथा सुरक्षाकर्मी मात्र परिचालित गरेर सरकारले अरुलाई लगभग निषेधको अवस्था सिर्जना गरेको छ । यसले गर्दा उद्धारका कार्यहरू भइरहेको भने तापनि स्थानीय तहमा राहत सामग्रीको ठूलो अभाव देखिएको छ । राहत सामग्री दिन तत्पर व्यक्ति र संस्थाहरु सरकारको यो रवैयाका कारण निराश भएका छन् ।
गृहमन्त्री साबेल बोकेर टनेल खोस्रन गएको भिडियो देखेर रमाइरहेका सामाजिक सञ्जालका अभियन्ताहरु अब के जवाफ दिन्छन् ? यो नागरिक जीवनमाथिको निर्लज्ज खेलवाड हो ।
विपत्तिको मारमा परेर प्रभावित भएका विस्थापित परिवारका लागि तत्काल चामल, दाल, नुन, तेल, तयारी खाना र सुरक्षित पिउने पानी पहिलो आवश्यकता हो । एकसरो लुगामा घरबाट बाहिरिएकाहरुका लागि अस्थायी आश्रय, ओत लाग्नका लागि त्रिपाल, टेन्ट, कम्बल, म्याट, ओछ्यान चाहिएको छ । अव्यवस्थित बसोवासका कारण स्वास्थ्य तथा सरसफाइ नाजुक बन्दै जाने निश्चित छ । यसका लागि प्राथमिक उपचारका औषधि, जीवनजल, पानी शुद्धीकरण गर्ने चक्की तथा सरसफाइ किट (साबुन, सेनेटरी प्याड आदि) आवश्यक पर्दै जानेछ । राज्यका निकायहरु यसको तयारीमा छन् र पीडितले सहजै यी सुविधा पाउने छन् भनेर बिश्वास गर्ने वातावरण कमजोर हुदैछ ।
विपद्ले भूगोल, उमेर वा सीमा हेर्दैन । यस्तो बेला हाम्रो मानवता र सामाजिक एकताको परीक्षा पनि हो । विगतका भूकम्प र बाढी जस्ता सङ्कट र महाविपत्तिमा पनि नेपालीहरूले एकापसमा ऐक्यबद्धता, भाइचारा र सहकार्यका माध्यमबाटै पुनर्जागरण हासिल गरेका हुन् । आज फेरि रसुवा, नुवाकोट र धादिङका प्रभावित आमाबाबु, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हाम्रा साना साना सहयोगका हातहरूको अत्यावश्यक खाँचो परेको छ ।
नागरिकप्रतिको दायित्व सरकारको हो । तर यस्तो विपदको समयमा सरकारले म आफैंमा पूर्ण र पर्याप्त छु भनेर सोच्नु गलत हुनेछ । गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज, युवा क्लब, सञ्चारमाध्यम तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हातेमालोका लागि तयार देखिनु भएको छ । एउटा सानो प्रयास वा सहयोगले कसैको अमूल्य जीवन जोगिन सक्छ र कसैको निराशाजनक अनुहारमा आशाको नयाँ किरण फर्कन सक्छ । यो हेक्का राखेर सरकारले सहयोगका लागि बाटो प्रशस्त गरिदिनु पर्छ ।
यो विपत्ति केवल एउटा जिल्ला वा क्षेत्रको मात्र पीडा होइन, यो सम्पूर्ण देश र मानवतामाथिको ठूलो बज्रपात हो । बाढी र पहिरोले हाम्रा घर, खेत र संरचना बगाएर लगे पनि हाम्रो मानवीयता, परस्परको साथ र आशालाई भने कहिल्यै बग्न र बगाउन दिनु हुँदैन । आउनु होस्, सबै एकजुट बनौँ र विपत्तिमा परेका परिवारको साथमा उभियौँ । जसले जस्तो र जेजति सहयोग गर्न सक्छौं, उदारताका साथ गरौं ।


प्रतिक्रिया