आगजनीको एकवर्षपछि खुल्यो धरानको भाटभटेनी

आगजनीको एकवर्षपछि खुल्यो धरानको भाटभटेनी


ग्लोब नेपाल
54
Shares

काठमाडौं । गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि पूर्ण रूपमा बन्द भएको धरानस्थित भाटभटेनी सुपरस्टोरले करिब एक वर्षपछि पुनः सेवा सुरु गरेको छ ।

आन्दोलनका क्रममा धरान, विराटनगर, दमक, बिर्तामोडलगायत देशका विभिन्न स्थान तथा काठमाडौं उपत्यकाका अधिकांश भाटभटेनी आउटलेटमा आगजनी र तोडफोड भएको थियो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ नेकपा एमाले निकट रहेको आरोप लगाउँदै आन्दोलनकारीले ती स्टोरहरूलाई निशाना बनाएका थिए ।

आगजनी र लुटपाटबाट अर्बौँ रुपैयाँको क्षति व्यहोरेको भाटभटेनीले एक वर्षभित्रै देशभरका आफ्ना सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा लुटपाटमा भाटभटेनीका विभिन्न स्टोरमा ठूलो क्षति पुगेको थियो । धरानस्थित भाटभटेनीमा आगलागीपछि चार जनाको शव फेला परेको थियो । तर, उनीहरूको हालसम्म सनाखत हुन सकेको छैन ।

आन्दोलन भएको दिनकै अवसर पारेर भदौ २४ गते धरानको भाटभटेनी पुनः सञ्चालनमा आएको हो । पुनः सञ्चालनको पहिलो दिन नै स्टोरमा ग्राहकको बाक्लो भीड लागेको थियो ।

देशभरका आउटलेट पुनः सञ्चालनमा ल्याएसँगै भाटभटेनीले गत वर्षको हिंसात्मक घटनाबाट प्रभावित आफ्नो व्यावसायिक सञ्चालनलाई क्रमशः सामान्य अवस्थामा फर्काएको छ ।