सानदार जितसहित म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिगमा पुनरागमन

सानदार जितसहित म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिगमा पुनरागमन


ग्लोब नेपाल
0
Shares

काठमाडौं। म्यानचेस्टर युनाइटेडले अजरबैजानको टोली सबाह एफकेविरुद्ध ४-० को प्रभावशाली जित निकाल्दै च्याम्पियन्स लिगमा शानदार पुनरागमन गरेको छ। तीन पटकको विजेता युनाइटेडले तीन सिजनको पर्खाइ पछि युरोपको यस प्रतिष्ठित क्लब प्रतियोगितामा पुनरागमन गर्दा पहिलो पटक सहभागी सबाहलाई सहजै पराजित गर्‍यो।

बिहीबार ओल्ड ट्राफोर्डमा भएको खेलको पहिलो हाफमै माथियस कुन्हा, ब्रुनो फर्नान्डेस र बेन्जामिन सेस्कोले गोल गर्दै टोलीलाई ३-० को बलियो अग्रता दिलाएका थिए। दोस्रो हाफमा लिसान्द्रो मार्टिनेजले थप एक गोल गर्दै जित सुनिश्चित गरे पनि युनाइटेडका लागि यो खेल पूर्ण रूपमा तनावमुक्त भने रहन सकेकाे थिएन ।

खेलको सुरुवातमा युनाइटेडको गति केही सुस्त देखिँदा ओल्ड ट्राफोर्डका समर्थकहरूमाझ असन्तुष्टि व्यक्त भएको थियो। तर, २७औँ मिनेटमा प्याट्रिक डोर्गूको ‘लो क्रस’ अर्थात जमिनको सतह नजिकै आएको पासलाई कुन्हाले गोलमा परिणत गरेपछि टोलीको घबराहट हट्यो। त्यसपछि सबाहका लागि काहिम पारिसले बल बक्सभित्र ल्याएर जोय-लान्स मिकेल्सका लागि गोलको उत्कृष्ट अवसर सिर्जना गरेका थिए तर मिकेल्सको हेडर चुकाएपछि घरेलु टोलीले राहत पायो।

सन् २०२६ को बालोन डी’ओर अवार्डका दाबेदारमध्ये एक रहेका युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले टोलीको उत्कृष्ट ‘पासिङ मुभ’लाई गोलमा बदल्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्यतिर स्लोभाकियन फरवार्ड बेन्जामिन सेस्कोले पेनाल्टीको माग नगरी गोलकिपरलाई छक्याएर साँघुरो कोणबाट तेस्रो गोल गरेर चमात्कार गरिदिए ।

खेलको ६०औँ मिनेटमा कुन्हा र लगत्तै फर्नान्डेसका दुवै प्रहार सबाहका गोलकिपरले विफल पारिदिए। दोस्रो हाफमा खेलको गति केही सुस्त बने पनि कर्नरबाट आएको बललाई बक्सभित्र नियन्त्रणमा लिँदै लिसान्द्रो मार्टिनेजले गोललाइन नजिकैबाट प्रहार गरेर टोलीका लागि चौथो गोल थपे। सबाहले खेलको अन्तिमतिर ओल्ड ट्राफोर्डमा सान्त्वना गोल गर्ने मौका पाएको थियो,तर पारिसको कमजोर प्रहार गोलकिपरको पहुँचमै सीमित भयो।

आइतबार हुने महत्त्वपूर्ण ‘म्यानचेस्टर डर्बी’ लाई ध्यानमा राख्दै प्रशिक्षक माइकल क्यारिकले अनुकूल अग्रताको फाइदा उठाए। उनले खेल सकिन २० मिनेट बाँकी छँदै मुख्य खेलाडीहरूलाई विश्राम दिँदै पाँचै प्रतिस्थापन प्रयोग गरेका थिए।

प्रिमियर लिगका सुरुवाती तीन खेलबाट चार अंक मात्र जोडेर टोलीमा देखिएका कमजोरीहरूलाई यो जितले केही हदसम्म ढाके पनि आगामी आइतबार म्यानचेस्टर सिटीविरुद्धको खेलमा टोलीले थप सतर्कता अपनाउनुपर्ने देखिने फुटवल बिश्लेषकहरूले जनाएका छन् ।