काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बैठकको सिफारिसका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजनास्थलको टुङ्गो लगाएको हो। मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै २०८३ साल मङ्सिर १६ देखि २७ गतेसम्म दशौँ संस्करण कर्णालीका विभिन्न जिल्लामा सञ्चालन हुने जानकारी गराएका हुन्।
यसअघि राष्ट्रिय खेलकुदको नवौँ संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। त्यसयता आयोजना हुन नसकेको राष्ट्रिय प्रतियोगितालाई थप व्यवस्थित र सफल बनाउन मन्त्रालयले प्रदेश सरकार, स्थानीय तह तथा सम्बद्ध सरोकारवालाहरूलाई आवश्यक तयारी र व्यवस्थापनका काम तीव्रताका साथ अघि बढाउन अपिल गरेको छ।
सबै पक्षको सकारात्मक सहयोगबाट प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिता, उदाहरणीय व्यवस्थापन र मर्यादित खेल प्रदर्शन भई राष्ट्रको गौरव उच्च हुने मन्त्रालयले विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया