सन्डरल्यान्डलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

सन्डरल्यान्डलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा



लन्डन । इतिहाद स्टेडियममा खेलिएको प्रिमियर लिगको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।

पहिलो हाफमा गोलको वर्षा र बराबरीको होड चलेकाे थियाे । खेलको पहिलो आधा घण्टामै ‘म्यान अफ द म्याच’ एन्जो फर्नान्डेजले कडा कोणबाट उत्कृष्ट गोल गर्दै सिटीका लागि खाता खोलेका थिए। तर, सन्डरल्यान्डका ब्रायन ब्रोबीले तुरुन्तै बराबरी गोल फर्काए। त्यसपछि रायन चेर्कीले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए पनि ब्रोबीले थोमस मेनियरको क्रसमा दोस्रो गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए।

हाफ-टाइम हुनुअघि मार्क गुएहीको पासमा एन्टोइन सेमेन्योले गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए।

दोस्रो हाफमा सेमेन्यो र हालान्डको गोल, ब्रोबीको ह्याट्रिक भएकाे थियाे । दोस्रो हाफको सुरुवातमै सेमेन्योले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–२ को दोहोरो अग्रता दिलाए। तर, लगत्तै दुई मिनेटभित्रै सन्डरल्यान्डका ब्रायन ब्रोबीले नजिकैबाट हेडर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र खेललाई ४–३ को स्थितिमा पुर्‍याएर रोमाञ्चक बनाए।

खेल सकिन ६ मिनेट बाँकी रहँदा जोस्को ग्वार्डिओलको पासमा अर्लिङ हालान्डले स्लाइड गर्दै टोलीका लागि पाँचौँ गोल गरे। सुरुमा अफसाइड दिइएको उक्त गोललाई भीएआरको समीक्षापछि मान्यता दिइएको थियो।

ऐतिहासिक सुरुवात यस जितसँगै अन्तर्राष्ट्रिय विश्रामअघि शतप्रतिशत नतिजा कायम राख्ने ‘सिटी’ प्रिमियर लिगको एकमात्र टोली बनेको छ। साथै, नयाँ म्यानेजर एन्जो मारेस्का आफ्नो सुरुवाती पाँच प्रिमियर लिग खेल जित्ने छैटौँ म्यानेजर बनेका छन्। यसअघि उनका पूर्ववर्ती पेप ग्वार्डिओलाले पनि यो उपलब्धि हासिल गरेका थिए।