अन्डमानमा विकसित चक्रवातको असर नेपालमा पर्न सक्ने

अन्डमानमा विकसित चक्रवातको असर नेपालमा पर्न सक्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । अन्डमान सागरआसपास विकसित भएको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने तरखरमा छ। त्यसको असर नेपालसम्म आइपुग्ने भएकाले समग्र देशव्यापी रूपमा उच्च सतर्कता अपनाइएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

मौसम विज्ञान विभागले उच्च चासोका साथ दिनरात यसको अनुगमन गरिरहेको मौसम विज्ञान विभागमा महानिर्देशक डा. अर्चना श्रेष्ठले जानकारी दिइन । उनले भनिन्, “चक्रवात कहाँ कसरी ल्यान्डफल हुन्छ, भारततिर गएर नेपाल फर्कन्छ वा सिधै यतै आउँछ भन्ने विषयले नेपालमा त्यसको असर निर्धारण गर्ने भएकाले उच्च सतर्कताका साथ धेरै मौसमी मोडेलको अनुगमन गरिरहेका छौँ।”

उनका अनुसार भारतका विभिन्न सहरमा यो वर्षको मनसुन अन्त्य भइसकेको छ। त्यसैले यो नेपालतिर कायम रहेको मनसुनी हावासँगै बङ्गालको खाडी हुँदै यता आउने सम्भावना प्रबल छ। विभागले विशेष मौसम बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भीषण वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका छ जिल्लाबाहेक सबै जिल्लामा उक्त प्रणालीको असर पर्ने देखिएको छ। देशका अधिकांश स्थानमा मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। उत्तर अन्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र यतिबेला बङ्गालको खाडीको मध्य भूभागआसपास आइपुगेको छ।

उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा पश्चिमबाट उत्तरपश्चिम दिशातिर सर्ने देखिएको छ। बुधबार भारतको दक्षिण उडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ।