काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग दुर्घटना बीमासम्बन्धी सम्झौता गरेको छ। गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै सदस्यतालाई विभिन्न तहमा वर्गीकरण गरी सोहीअनुसार दुर्घटना बीमा सुविधा उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार ग्राहकलाई सिल्भर, गोल्ड र डायमन्ड गरी तीन तहको सदस्यतामा वर्गीकरण गरिएको छ। सम्झौताअनुसार आगामी बडादसैँको घटस्थापनादेखि सदस्यताको तहअनुसार दुर्घटना बीमा सुविधा लागू हुनेछ।
सिल्भर सदस्यता भएका ग्राहकले अधिकतम १ लाख रुपैयाँ, गोल्ड सदस्यता भएका ग्राहकले ५ लाख रुपैयाँ र डायमन्ड सदस्यता भएका ग्राहकले अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने कम्पनीले जनाएको छ।
हिमालयन बुलियनका अनुसार ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता गरिएको हो। गरगहना खरिदसँगै ग्राहकलाई अतिरिक्त सुरक्षा सुविधा उपलब्ध गराउने उद्देश्यले बीमा योजना ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले आगामी घटस्थापनादेखि लागू हुने यस योजनाले ग्राहकको विश्वास र सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरेको छ।


प्रतिक्रिया