कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री


ग्लोब नेपाल
0
Shares

काठमाडौं  । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मत रूपमा पारित भएको छ। संशोधित विधानअनुसार अब पार्टीको केन्द्रीय संरचना र पदाधिकारी टोली थप फराकिलो र समावेशी बन्ने भएको छ।

महाधिवेशन प्रतिनिधि प्रताप पौडेलका अनुसार नयाँ व्यवस्थाअनुसार कांग्रेसमा अब १ जना सभापति, १ जना वरिष्ठ उपसभापति, ४ जना उपसभापति, ३ जना महामन्त्री र १५ जना सहमहामन्त्री रहनेछन्।

पदाधिकारीमा महिला र समावेशी सहभागिता अनिवार्य बनाइएकाे छ । संशोधित विधानमा पदाधिकारी चयनमा समावेशितालाई विशेष प्राथमिकता दिइएको छ। जसअनुसार ४ जना उपसभापतिमध्ये १ जना महिला र १ जना समावेशी समूहबाट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ भन ३ जना महामन्त्रीमध्ये १ जना महिला हुनुपर्ने प्रस्ताव पारित भएको छ। साथै, कुल १५ जना सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र ४ जना मनोनीत हुनेछन्।

विधान संशोधन भएसँगै कांग्रेसको केन्द्रीय कार्यसमिति अब २५० भन्दा बढी सदस्यीय बन्ने भएको छ। विस्तारित केन्द्रीय समितिमा निर्वाचित सदस्यका अतिरिक्त ६१ जना सदस्य मनोनीत हुने व्यवस्था मिलाइएको छ।

यस संशोधनले पार्टीभित्र महिला, युवा र समावेशी समूहको प्रतिनिधित्वलाई अझ सुदृढ बनाउने र संगठनलाई देशव्यापी रूपमा सक्रिय बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।