तथ्यहिन समाचार लेख्ने सञ्चारमाध्यमविरुद्ध सांसद पोखरेलले कानुनी उपचार खोज्ने

तथ्यहिन समाचार लेख्ने सञ्चारमाध्यमविरुद्ध सांसद पोखरेलले कानुनी उपचार खोज्ने


ग्लोब नेपाल
297
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले आफूमाथि बदनाम गर्ने उद्देश्यले झुटा तथा आधारहीन समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । उनले आफूलाई बिचौलियासँग जोडेर आर्थिक लेनदेनलगायतका विषयमा गरिएका प्रचार सामाग्री निराधार र भ्रामक भएको स्पष्ट पारेका छन्।

बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत सांसद पोखरेलले अनलाइन सञ्चारमाध्यम ‘दियोपोस्ट’ मा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त समाचारमा उल्लेख गरिएका आरोपमा कुनै सत्यता नरहेको र भ्रममा नपर्नसमेत आम जनसमुदायमा अनुरोध गरेका छन् ।

उनले कुनै पनि दलाल वा बिचौलियासँग आफ्नो चिनजान, सम्पर्क वा सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। समाचारमा उल्लेख गरिएका इमन सापकोटासँग पनि आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य सम्बन्ध नरहेको उनले स्पष्ट पारेका छन् ।

पोखरेलले आफूलाई जोडेर प्रस्तुत गरिएका कथित आर्थिक लेनदेन तथा अन्य आरोपलाई पूर्ण रूपमा भ्रामक र खेदजनक भनेका छन्। प्रमाणित तथ्य र आधिकारिक आधारबिना आफ्नो नाम जोडेर समाचार प्रकाशित गर्नुले व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र सार्वजनिक जीवनमा गम्भीर असर पार्ने उनले बताएका छन्।

आफ्नो नाम जोडेर सार्वजनिक भएका आरोपबारे कुनै प्रमाण भए सम्बन्धित निकायमा पेस गर्न चुनौती दिँदै उनले आफूले गैरकानुनी आर्थिक कारोबार वा बिचौलियामार्फत अनुचित काम गराएको गतिविधि नगरेको दाबी गरेका छन्।

उनले पत्रकारिता क्षेत्रलाई सत्यतथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गर्दै आफ्नो नाम जोडेर प्रकाशित समाचारमा गल्ती भए सच्याउन पनि अनुरोध गरेका छन्।

विज्ञप्तिमा पोखरेलले आफूले ३५ वर्षदेखि देश र नागरिकको सेवामा समर्पित भएर काम गर्दै आएको उल्लेख गरेका छन्। आफूले सधैँ सत्य, निष्ठा र विधिको शासनमा विश्वास गर्दै जिम्मेवारी निर्वाह गरेको उनको भनाइ छ।

उनले आगामी दिनमा पनि सत्य, निष्ठा र इमानदारीका साथ राष्ट्र तथा जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।