डा. मनोज केसीले हाँक्नेछन् प्रहरी संगठन

डा. मनोज केसीले हाँक्नेछन् प्रहरी संगठन


ग्लोब नेपाल
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई राजनीतिक नेतृत्वसम्म पुर्‍याउँदै पूर्वउपप्रधानमन्त्रीदेखि पूर्वगृहमन्त्रीसम्मलाई पक्राउ गर्ने प्रहरी अधिकृत डा. मनोजकुमार केसी अब नेपाल प्रहरीको नेतृत्वमा पुगेका छन् । मन्त्रिपरिषद्ले बुधबार दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

केसीको प्रहरी सेवामा नक्कली भुटानी शरणार्थी प्रकरण एउटा महत्त्वपूर्ण मोडका रूपमा रहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलिएको प्रकरणको अनुसन्धान अघि बढाउन उनले निर्णायक भूमिका खेलेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला केसीले २०७९ चैत १२ गते यस प्रकरणका मुख्य आरोपी पक्राउ गरेका थिए । तीन आरोपीको बयान र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको थियो ।

पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गर्न केसीकै नेतृत्वको प्रहरी टोली उनको निवास पुगेको थियो । बहालवाला राजनीतिक नेतृत्वसँग जोडिएका व्यक्तिमाथि अनुसन्धान अघि बढाउनु र पक्राउ गर्न टोली परिचालन गर्नु उनका लागि सामान्य जिम्मेवारी मात्र थिएन । त्यसले प्रहरीभित्र र बाहिर राजनीतिक दबाब तथा असन्तुष्टि निम्त्याएको थियो ।

यस प्रकरणमा अनुसन्धान अघि बढाएकै कारण केसीले राजनीतिक असन्तुष्टि र प्रशासनिक दबाबसमेत सामना गर्नुपरेको थियो । कांग्रेस नेतृत्व उनीसँग असन्तुष्ट बनेको र कांग्रेस सरकारमा रहँदासम्म उनले महत्त्वपूर्ण जिम्मेवारी नपाएको विषयसमेत सार्वजनिक भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढिरहेका बेला २०८० भदौ ४ गते केसीलाई जिम्मेवारीबाट हटाइएको थियो ।

त्यतिबेला उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए । उनीसँगै काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख दानबहादुर कार्कीसमेत सरुवामा परेका थिए । शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीलाई हटाउने तयारीले त्यतिबेला प्रहरीको अनुसन्धान प्रक्रियामाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रश्न उठेको थियो ।

तर केसी पछि हटेनन् । २०८२ असोज ५ गते सरकारले उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा सरुवा गरेको थियो । सीआईबीको नेतृत्व सम्हालेपछि उनले विभिन्न आर्थिक अपराध, संगठित ठगी तथा जटिल प्रकृतिका अपराध अनुसन्धानमा काम गरेका थिए । सीआईबीको नेतृत्वमा रहँदा केसीले पर्यटकको नक्कली हवाई उद्धार (फेक रेस्क्यु) प्रकरणको अनुसन्धानलाई पनि निष्कर्षतर्फ पुर्‍याएका थिए ।

विदेशी पर्यटकलाई उद्धार गरेको देखाएर अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट रकम असुल्ने उद्देश्यले हेलिकोप्टर कम्पनी, उद्धार सेवा प्रदायक, अस्पताल र पर्यटन व्यवसायीबीच मिलेमतो भएको आशंकामा सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा सामान्य चार्टर उडानलाई आपत्कालीन उद्धारका रूपमा देखाउने, एउटै उडानमा रहेका पर्यटकको छुट्टाछुट्टै उद्धार गरेको विवरण बनाउने, नक्कली चिकित्सकीय कागजात तयार पार्ने र अस्पतालको बिल बढाएर बिमा रकम दाबी गर्ने गरेको खुलेको थियो ।

केसीले २०५४ चैत २८ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीको सेवा सुरु गरेका हुन् । प्रहरी सेवामा रहँदा उनले जिल्ला प्रहरी प्रमुखदेखि अपराध अनुसन्धानसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । मोरङ र रूपन्देहीको प्रहरी प्रमुखका रूपमा समेत काम गरेका केसी प्रहरी संगठनभित्र अपराध अनुसन्धानको अनुभव भएका अधिकृतका रूपमा परिचित ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाउँदा राजनीतिक दबाब र जिम्मेवारीबाट हटाइनुपरेको अवस्था भोगेका केसीका लागि प्रहरी महानिरीक्षकको नयाँ जिम्मेवारी चुनौतीपूर्ण हुनेछ । अब उनको नेतृत्वमा प्रहरी संगठनको व्यावसायिकता, अनुसन्धानको निष्पक्षता र राजनीतिक हस्तक्षेपबाट मुक्त प्रहरी प्रशासन कायम गर्ने विषय प्रमुख परीक्षाका रूपमा रहनेछन् ।