काठमाडौं । नेपाल प्रहरीका ३ जना प्रहरी उपरीक्षक (एसपी) सहित ११ जना प्रहरी अधिकृतहरूको जिम्मेवारी हेरफेर (काज सरुवा) गरिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले ३ जना एसपी र ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार कर्मचारी प्रशासन शाखामा कार्यरत एसपी निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ भने उनको स्थानमा एसपी कार्जी कुमार आचार्यलाई ल्याइएको छ । यस्तै, एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोमा सरुवा गरिएको छ ।
त्यसैगरी, आईजीपी केसीको निर्णयअनुसार ८ जना डीएसपीहरूको पनि जिम्मेवारी हेरफेर भएको छ । जसअनुसार प्रहरी प्रधान कार्यालयको केन्द्रीय लेखामा डीएसपी विश्वराज अधिकारी, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा तर्कराज पाण्डे र कर्मचारी प्रशासन शाखामा दान बहादुर थापालाई ल्याइएको छ ।
कर्मचारी प्रशासन शाखामा कार्यरत डीएसपी मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, प्रबन्ध निर्देशनालयमा कार्यरत प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
यस्तै, अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । डीएसपीद्वय बम र बस्नेतलाई प्रहरी स्टाफ कलेजको तयारीका लागि कार्यबोझ कम भएको कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।


प्रतिक्रिया