कांग्रेस केन्द्रीय नेतृत्वको तयारीमा केसी

कांग्रेस केन्द्रीय नेतृत्वको तयारीमा केसी


ग्लोब नेपाल
0
Shares

नेपाली कांग्रेसकी नेत्री चित्रा केसी पार्टीको आसन्न १५ औं नियमित महाधिवेशनमार्फत केन्द्रीय नेतृत्वमा आउने तयारीमा जुटेकी छिन् । नेपाली जनसम्पर्क समिति,अमेरिकाबाट पार्टीको १२ औं महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहिसकेकी केसी अहिले १५ औं नियमित महाधिवेशनमा पनि अमेरिकाबाट प्रतिनिधि बनेकी छिन् । केसी विगत डेढ दशक यतादेखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सपरिवार बसोवास गर्दै आइरहेकी छिन् ।

नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाली कांग्रेसको विभिन्न नेतृत्वमा रहेर काम गरिसकेकी केसी पार्टीभित्र अत्यन्त जुझारु र क्रियाशील नेत्रीको रुपमा चिनिन्छिन् । अमेरिका आएपछि उनी सन् २००७ मा भएको नेपाली जनसम्पर्क समिति,अमेरिकाको कनेक्टिकट अधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएर काम गरेकी छिन् ।

नेपालमा रहँदा नै पार्टीका हरेक गतिविधिमा क्रियाशील केसी देश बाहिर रहेर पनि पार्टीका पक्षमा निरन्तर क्रियाशील छिन् । हाल जनसम्पर्क समितिबाट पनि केन्द्रीय सदस्यको प्रतिनिधित्व गर्न पाउने बिधान अनुसार आफु पार्टीको नेतृत्वका लागि अग्रसर भएको उनको भनाई छ । ‘ अहिले छलफलमै छु, साथीहरुसंग कुराकानी भैरहेको छ, पार्टीका नेताहरुसंग पनि छलफल भैरहेको छ, यो पद भन्ने चाहिं तय भएको छैन, तर अब पार्टीको मूल नेतृत्वको भूमिकामा बसेर काम गर्नेगरी सल्लाह हुँदैछ, हामीले देश बाहिर रहेका नेपालीहरुको अधिकारका लागि काम गर्नुपर्नेछ’ हामीसंग केसीले भनिन् ।

नेपालको अर्घाखाँची पुर्ख्यौली थलोकी केसी विद्यार्थी जीवनदेखि नै सन्तनेता कृष्णप्रसाद भट्टराई र नेत्री शैलजा आचार्य नजिक थिइन् । समाजवादी नेताका रुपमा परिचित ढुण्डीराज शास्त्रीसंग समेत उत्तिकै निकट रहेर काम गरेकी केसी २०५१ सालमा स्वतन्त्र विद्यार्थी युनियन विश्वभाषा क्याम्पसको कोषाध्यक्ष निर्वाचित भएर काम गरेकी थिइन् । त्यसपछि २०५३ नेपाली कांग्रेस अर्घाखाँची जिल्ला कार्य समिति सदस्य भईन् ।

नेपाल महिला संघ लुम्बिनी अञ्चल प्रतिनिधि सदस्य समेत भएर काम गरेकी केसीले २०५६ सालमा महिला तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको महिला जागृति तथा आय आर्जन कार्यक्रम अर्घाखाँची जिल्ला समन्वय समितिको अध्यक्ष भएर पनि काम गरिसकेकी छिन् ।

पार्टीको १५ औं नियमित महाधिवेशन पक्षधरमा देश बाहिरबाट सक्रिय रहेका मध्ये केसी सिनियर महिला नेत्री मानिन्छिन् । जनसम्पर्क समितिको तर्फबाट प्रतिनिधित्व गर्न पाउने जुनसुकै पदका लागि पनि उनी योग्य उम्मेदवार हुने जनसम्पर्क समितिका प्रतिनिधिहरुको भनाई छ । ‘हामी अरु जान्दैनौं आदरणीय नेता शेरबहादुर देउबाको योगदानको अवमूल्यन गर्न पाइदैन, पार्टीमा सबैको पालो आउँछ तर त्यसका लागि धैर्य र संयम चाहिन्छ, जेनजी आन्दोलनको नाममा त्यसरी मरणासन्न र रगताम्य हुने गरी आफ्नै निवासमा कुटाई खाँदा शेरबहादुर दाईको पक्षमा बोल्न नसक्नेहरु पार्टीका सिपाही होइनन्, अवसरबादी हुन् , त्यस्ताबाट पार्टी चल्दैन, त्यसैले म नियमित महाधिवेशन पक्षधर’ नेत्री केसीले भनिन् ।

केसी अर्को साता नेपाल जाँदैछिन् । नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन यही मंसीर २१, २२ र २३ गते राजधानी काठमाडौंमा सम्पन्न हुँदैछ । अमेरिकाबाट कार्कीसहित १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।