पूर्वमन्त्री एवं लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष ल्हारक्याल लामाको घरमा अख्तियार

पूर्वमन्त्री एवं लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष ल्हारक्याल लामाको घरमा अख्तियार


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । पूर्वअर्थराज्यमन्त्री एवं लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष ल्हारक्याल लामाको निजी निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थलगत नापजाँच गरेको छ ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२, चपलीस्थित गणेश मन्दिर नजिकै सार्वजनिक जग्गा अतिक्रमण गरी निजी निवास निर्माण गरेको आरोपमा अख्तियारको टोलीले सोमबार स्थलगत नापजाँच गरेर फर्किएको अख्तियार प्रशासन स्रोतले जानकारी दिएको छ ।

लामाले २०६४ असार २० गते भुवन सिंहबाट तत्कालीन चपली गाउँ विकास समिति-८ मा रहेको आठ आना जग्गा खरिद गरेका थिए । नापी कार्यालय चाबहिलको अभिलेखअनुसार साबिक कित्ता नम्बर १९८ र नयाँ नापीअनुसार कित्ता नम्बर २६ मा रहेको जग्गाको कुल क्षेत्रफल दुई रोपनी नौ आना एक पैसा रहेको र त्यसमध्ये लामाले खरिद गरेको आठ आना जग्गाबाहेक दुई रोपनी एक आना एक पैसा सार्वजनिक जग्गा उनको निवास परिसरभित्र परेको यसअघिको नापजाँचमा देखिएको विषयमा अख्तियारले छानबिन गरिरहेको उक्त स्रोतले बतायो ।

सार्वजनिक जग्गा अतिक्रमणको विषय बाहिरिएपछि बुढानीलकण्ठ नगरपालिकाले २०८० माघ १४ गते लामालाई पत्राचार गर्दै जग्गासम्बन्धी विवरण मागेको थियो । पहिलो पत्रको जवाफ नआएपछि नगरपालिकाले फागुन ९ गते सात दिनभित्र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि उपलब्ध गराउन पुन: पत्राचार गरेको थियो ।

त्यसको दुई दिनपछि लामाले नगरप्रमुखलाई सम्बोधन गर्दै तीन पृष्ठको हस्तलिखित जवाफ पठाएका थिए । जवाफमा उनले आफूले जग्गा खरिद गर्नुअघि नै तारबार लगाइएको उल्लेख गर्दै सार्वजनिक जग्गा अतिक्रमण नगरेको दाबी गरेका थिए । नगरपालिकाको नापजाँचबाट सार्वजनिक जग्गा परेको पुष्टि भए खाली गर्न तयार रहेको प्रतिबद्धतासमेत उनले जनाएका थिए ।

वडा समितिले समेत अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन नगरपालिकालाई पत्राचार गरेको थियो । लामाबाहेक अन्य नौ परिवारले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेको तथ्य त्यतिबेला नै सार्वजनिक भएको थियो ।

अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढ्न नसकिरहेका बेला अख्तियारले गरेको स्थलगत नापजाँचबाट सार्वजनिक जग्गा संरक्षणसमेत अनुसन्धानको विषय बन्न सक्ने देखिएको छ ।