मस्काे । युक्रेनसँगको युद्धमा हालसम्म पाँच लाख रुसी सेना मारिएको तथ्य सार्वजनिक भएको छ । रुस आफैले पनि आफ्ना पाँच लाख सैनिक मारिएको स्वीकार गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीले रुसी सरकारी तथ्यांकको विश्लेषण गर्दै युद्ध सुरु भएदेखि सन् २०२६ सेप्टेम्बरसम्म कम्तीमा चार लाख ९० हजार ३ सय ३४ रुसी सैनिक मारिएको जनाएको छ ।
बेलारुसको ह्याकर समूह साइबर पार्टिजन्स बीवाई र युक्रेनको साइलेन्ट क्रोले गरेको साइबर आक्रमणबाट प्राप्त रुसी तथ्यांकमा बीबीसी रुसीले सन् २०२१ देखि सन् २०२६ सेप्टेम्बरसम्मका १ करोड १० लाखभन्दा बढी मृत्युदर्ताका अभिलेख फेला पारेको थियो । ती अभिलेखलाई स्वतन्त्र रुसी सञ्चारमाध्यम मिडियाजोनासँग मिलेर विश्लेषण गर्दा युद्धमा मारिएका सैनिकको पुष्टि भएको विवरणमध्ये ९० प्रतिशतसँग मेल खाएको बताइएको छ ।
युद्धका कारण रुसको मृत्युदरमा समेत ठूलो परिवर्तन आएको तथ्यांकले देखाएको छ । सन् २०२५ मा मृत्यु भएका १८ देखि २४ वर्ष उमेर समूहका रुसीमध्ये ६५ प्रतिशत युद्धमा मारिएका थिए । त्यस्तै, २५ देखि ३४ वर्ष उमेर समूहका ५९ प्रतिशतको मृत्यु युद्धमा भएको थियो । ४५ देखि ५४ वर्ष उमेर समूहमा भने युद्धभन्दा मुटुसम्बन्धी रोगका कारण बढीको मृत्यु भएको छ ।
युक्रेनका साना बस्ती कब्जा गर्न भएका लडाइँमा पनि ठूलो संख्यामा रुसी सैनिक मारिएको तथ्यांकमा उल्लेख छ । युद्धअघि कुल १२ हजार जनसंख्या रहेका १० वटा गाउँ नियन्त्रणमा लिन भएको लडाइँमा करिब २० हजार रुसी सैनिकको मृत्यु भएको थियो ।
डोनेट्स्क क्षेत्रको बाख्मुत सहरको दक्षिणमा रहेको आन्द्रीइभ्का गाउँ कब्जा गर्न भएको लडाइँमा मात्रै ११ सय २२ रुसी सैनिक मारिएका थिए । युद्धअघि उक्त गाउँको जनसंख्या ७४ थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिनमै सकिने अनुमान गरेको युद्ध लगभग पाँच वर्ष पुग्न लागेको छ। तथ्यांकले युक्रेनका विशेष क्षेत्रहरूमा भएको क्षतिको भयावह अवस्था पनि उजागर गरेको छ।


प्रतिक्रिया