काठमाडौं। नेपाल सरकारले ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने गरी नेपाल राजपत्रमा प्रकाशन गरेको निर्णयप्रति नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका समितिले कडा आपत्ति जनाएको छ ।
उक्त वर्गीकरणले नेवार समुदायको पहिचान, आत्मसम्मान र ऐतिहासिक विशिष्टतामाथि गम्भीर आघात पुर्याएको भन्दै महानगर समितिले निर्णय तत्काल खारेज गर्न माग गरेको हो।
महानगर समितिका सभापति सुसन वैद्यले जारी गरेको विज्ञप्तिमा नेवार समुदायसँग कुनै छलफल, सहमति र पर्याप्त वैज्ञानिक अध्ययनबिना हचुवाका भरमा गरिएको निर्णय स्वीकार्य नहुने स्पष्ट पारिएको छ। आफ्नै भाषा, लिपि, संस्कृति, परम्परा र मौलिक सभ्यता भएको आदिवासी जनजाति समुदायलाई सरोकारवालाको आवाज नसुनी वर्गीकरण गरिँदा समुदायबीच अनावश्यक विभाजन बढ्ने तथा वास्तविक दलित समुदायका हक–अधिकारका मुद्दाहरूसमेत ओझेलमा पर्ने जोखिम रहेको काँग्रेसले औँल्याएको छ।
सरकारले जारी गरेको उक्त विवादास्पद सूची तत्काल र पूर्ण रूपमा खारेज गरी खारेजीको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न महानगर समितिले जोडदार माग गरेको छ। साथै, भविष्यमा कुनै पनि समुदायको पहिचान र सूचीकरणसम्बन्धी नीति निर्माण गर्दा सम्बन्धित जातीय तथा सामुदायिक संस्था, विज्ञ र सरोकारवालासँग अर्थपूर्ण परामर्श एवं तथ्यपरक अध्ययन गर्न सरकारलाई आग्रह गरिएको छ।
विभिन्न जातीय तथा सामुदायिक प्रतिनिधिहरूसँगको सल्लाहका आधारमा काङ्ग्रेस काठमाडौँ महानगर समितिको आयोजनामा आज दिउँसो ३:०० बजे काठमाडौँको असन डबलीमा विरोध प्रदर्शन गर्न लागिएको छ । सभापति वैद्यका अनुसार सरकारले गलत निर्णय फिर्ता नगरेसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।


प्रतिक्रिया