पोल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा. हेमराज शर्मा र पोल्याण्डमा रहेका नेपाली समुदायबीच वार्सामा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
एनआरएनए पोल्याण्डकी अध्यक्ष रिता तिवारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष डा. बोधराज सुवेदी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा अन्य नेपालीहरूको सहभागिता थियो। केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेर पोल्याण्ड भ्रमण गर्ने डा. शर्मा पहिलो अध्यक्ष भएकाले यो भ्रमण र अन्तरक्रियालाई विशेष रूपमा हेरिएको छ।
कार्यक्रममा सहभागीहरूले विदेशमा नेपालीहरूले भोगिरहेका व्यावहारिक समस्या, एनआरएनएको भूमिका, हकहित, कूटनीतिक विषय, बैंकिङ तथा आर्थिक कारोबारका कठिनाइ र साझा सरोकारका विषयमा प्रश्न राखेका थिए। पवन खड्काको अडियो जिज्ञासासँगै मित्रलाल पार्दे, हरिशचन्द्र गिरी, विवश ह्याङ राई, सुमन थपलिया, भीम परियार, सुसन परियार, सुभाष खतिवडा, गोपाल राई र डा. बोधराज सुवेदीलगायतले आफ्ना जिज्ञासा तथा अनुभव राखेका थिए। उदयराज गिरीले कार्यक्रम सञ्चालन गरेका थिए।
कुनै पनि संस्थालाई काखा र पाखा गरिनु हुँदैन
सहभागीका प्रश्नको जवाफ दिँदै अध्यक्ष डा. शर्माले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले कुनै पनि संस्था वा समूहलाई काखा र पाखा नगरी समान व्यवहार गर्नुपर्ने बताए। उनले सबै संघसंस्थासँग मिलेर समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। साथै, आगामी युरोपियन एनआरएन सम्मेलन पोल्याण्डमा गर्ने जानकारी पनि उनले दिए।
समस्या र अपेक्षामा खुला संवाद
कार्यक्रममा विदेशमा रहेका नेपालीका समस्या बुझ्ने, संस्थागत जिम्मेवारी प्रभावकारी बनाउने तथा केन्द्र र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीचको सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल भयो। नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा आफ्ना कुरा राख्न पाएकाले संस्थागत पारदर्शिता, जवाफदेहिता र एनआरएनए अभियानलाई अझ प्रभावकारी बनाउन यस संवादले सकारात्मक अपेक्षा बढाएको सहभागीहरूले बताएका छन्।


प्रतिक्रिया