समयको दासतासँगै हुर्किएको जीवन कहिले प्रेमको पारिलो घाममा लुट्पुटियो । कहिले प्रेम प्रणयको वासनासँगै तरङ्गित भयो । कहिले बासन्ती पवनसँगै प्रवाहित हुँदै विशाल पीडाका सागरमा पौडियो । जीवन– बाँच्ने क्रममा सुखको अपेक्षा गर्दै, अभावका पोका पन्तुरा बोक्दै, दुःखका छिटाबाछिटा तर्काउँदै, समयले टेकेका पीडाका डोबहरू कुल्चँदै, अविरल यात्रामा अल्मलियो । आज पनि अझै उस्तै छ जीवन । जीवनको अर्थ बुझ्न खोज्दै गर्दा बगेका आँसु अनि सम्झनाका विम्ब प्रतिविम्बहरू नाकै अगाडि आएर ठोक्किई रहन्छन् ।
यो जिन्दगी आफैँ एउटा ठूलो पुस्तक नै भइरहेछ । पुस्तक पढ्न सकिन्छ तर जीवन पढ्न कति गाह्रो ! मान्छे पढ्न झन् कति मुस्किल ! मान्छेकै चरित्र हो– जहाँ नीतिका कुरादेखि प्रीतिका कुरासम्म हुन्छन् । म अहमदेखि त्याग र समर्पणसम्ममा होमिँदै परदेसिँदा आँखाभरि सपना र विपनाको घमासान युद्ध लड्दै थिएँ । आमा र माटोको मायावी न्यानो झरीले निथ्रुक्क भिजेको मन सुखद् जीवनको कामना र चाहनाको अन्यौलमा थियो । डाको छोडेर रुन मन लाग्थ्यो कहिले त !
सन्दर्भ नोकरीकै हुन्छ जहाँ पनि । हुन त धेरै वर्ष अगिदेखि नै नोकरीसित नाम जोडेर आएकी पनि हो । जागिर पाइने आशा र रहरमा एसएलसी सकेपछि ग्रामीण स्वास्थ्य स्वयंसेविकाको तालिम लिएर गाउँमा सेवा पनि गरेँ । गाउँलेहरूको घाउ पुछेर दबाई लगाइदिई रहँदा यो नानी त डाक्टर पो भएछ भन्थे । यो सुन्दा गर्वले छाती फुल्थ्यो अनि सेतो कोट लाउने सपना देख्थेँ । सपना पनि छिप्पिँदै जाँदै थिए उमेरसँगै ।
समय, देश, काल, परिस्थिति उस्तै रहेन । रहोस् पनि कसरी ? उच्च शिक्षाको लागि घर छाडियो । खाजासामलका झोलामा ठूला आकाङ्क्षा र सपना कोचेर । पढाइ गर्नु पहिलो काम थियो तथापि काम नगरी काठमाडौँमा बाँच्न मुस्किल थियो । दुःख–सुख र सङ्घर्ष गरेर पढाइ पनि पार लाउदै थिएँ । कामको खोजी पनि गर्नु थियो । शिक्षण पेशाभन्दा अरू विकल्प थिएन । खोज्दै जाँदा त्योभन्दा छिटो एउटा सानो होजियारी कम्पनीबाट सुरुवात भएको थियो मेरो जागिरे जीवन ।
आइ.ए. पास गरेपछि सरकारी जागिर खाने इच्छा तीव्र थियो । तत्कालै नपाए पनि पछिसम्ममा केही न केही त पाइएला भन्ने आशामा थिएँ । विभिन्न ठाउँमा खुलेका विज्ञापन हेरी फारम भरेर पढ्न थाली हाल्थेँ । लाग्थ्यो, मेहनत गरेर पढे एक न एकपल्ट त कसो पास नहोइएला !
असफल हुँदा पनि त्यति दुःख लाग्दैनथ्यो । बाआमाको अर्ति याद आइहाल्थ्यो जीवनमा कहिल्यै हार नमान्नू, असफलता नै सफलताको प्रतीक हो। आमाबा टाढा भए पनि सँगै भएको सम्झिरहन्थेँ । कहिलेकाहीँ लाग्थ्यो,देशमा सानोतिनो लगन र धैर्यताले मात्र काम बन्दैन । जहाँ बोली बिक्थ्यो, नातावाद, कृपावाद चल्थ्यो । तैपनि परीक्षा दिन छोडिनँ । सामाजिक संस्कार अनुरूप विवाह बन्धनमा पनि बाधिएँ । जीवनको गाडी गुडी नै रह्यो– कहिले पिचरोड कहिले ग्य्राबल बाटो हुँदै ।
त्यही बेला अस्थायी कर्मचारीको रूपमा दर्ता हुने अवसर प्राप्त भयो सरकारी कार्यलयमा । लोकसेवा पास गर्न सकिरहेकी थिइनँ । अस्थायी जागिर, सधैँको धरमर धरमर । लोकसेवा पास गरेका व्यक्तिहरू अरू पदको लागि नियुक्ति लिएर आएको देख्दा आफ्नो जागिरको पनि आयु लामो छैन भन्ने लागिरहन्थ्यो । कुन दिन सेवाको लागि धन्यवाद भनेर पत्र थमाइदिने हो भन्ने डर लागिरहन्थ्यो । बसाइ र कामकै सिलसिलामा झण्डै दसवटा बसन्त बिते बेलायतमा । अनेक विषम परिस्थितिको सामना गर्दै एउटै अस्पतालमा झण्डै आठ वर्ष बित्यो काम गर्दै ।
काम पाउन गाह्रो, त्यसलाई टिकाउन झन् गाह्रो ।
सार्वजनिक यातायातको साह्रै सुविधा । हरेक पाँच मिनेटमा ट्रेन, बस आउँथ्यो । दुईतले गाडीमा चढेर आनन्दले बसिदियो र समयमा काममा पुग्यो कुनै तनाव हुँदैनथ्यो । आफ्नै साधन हुनु जरुरी थिएन कहिलेकाहीँबाहेक । धेरै मेहनत गर्नु पर्ने काम । गाउँघरमा हलो केदालो गरेजस्तो सजिलो थिएन । सर–सफाइमा चलाएका केमिकल र अस्पतालको गन्धले प्रायः दुखिरहन्थ्यो मेरो टाउको । प्रायः उभिएरै लगातार गरिरहने कामले कम्मर दुखेर छिन्लाझैँ हुन्थ्यो । नियमित कामबाट बिदा लिँदै आफ्नो योग्यता बढाउने सिलसिलामा डेन्टल सम्बन्धी अध्ययन गर्ने बाटो रोजेँ । सामान्य अङ्ग्रेजी जान्ने मैले कसरी पार लगाउँला र भन्दै गर्दा जादुमय तरिकाले मैले डेन्टल बोर्डको परीक्षामा सफलता हासिल गर्दा म आफैँ छक्क परेकी थिएँ । विदेश गएर नै आङमा सेतो कोट लाउने सपना पनि पूरा भयो । पछि नेपाल आएर आफ्नो देशमा पनि सेवा गर्ने रहरले काम गरेँ २ वर्ष जति ।
लाग्दै थियो, जीवनमा घटनाहरू सबै अकल्पनीय रूपमै आउने रहेछन् । नसोचेकै भैरहेको थियो साँच्चीकै ।
काठमाण्डौँ बस्ने रहरै नपुगी सबैले सपनाको स्वर्ग मानेको अमेरिकाको लागि ढोका खुल्यो । बेलायत बसिसकेकी मलाई विदेशको मोहभन्दा पनि अर्काे ध्रुव अमेरिकाबारे केही उत्सुकता, कौतुहलता साथै तनाव सबै एकै भाँडोमा थिए । निकै महिना बितिसक्दा पनि अन्योलको बादल उघ्रिएको थिएन । कुहिरोको काग जस्तै अनुभूति भएको थियो । हातमा कारको चाबी भए पनि सधैँ पातमाथि ज्यान राखेर हिँड्नु प¥थ्यो । काममा एक्लै पुग्नसक्ने हुनसक्नु पर्थ्यो । पहिले त आफैँ गाडी हाँक्नसक्ने क्षमतावान हुनपर्यो । गाडी सिक्न पाउने अनुमति पत्र पाउन सजिलो थिएन । पूरा समय दिएर यो सबै व्यवस्था मिलाइदिनु हुने दाजु राम विमलीप्रति कृतज्ञ छु । नतमस्तक छु ।
पहिलोपल्ट एउटा सबवेमा काम सिक्ने मौका मिल्यो । जीवनमा पहिलोपल्ट देखेका खानाहरूको नाम जान्न सजिलो थिएन । त्यो कम्पनीकी मालिक्नीको नाम सम्झँदा पनि मन त्रसित हुन्थ्यो । म सपनामा पनि खानाका नाम र बनाउने तरिका सिकिरहेकी हुन्थेँ । निन्द्रामा समेत झस्किन्थेँ । विविध कठिनाइ भित्रबाट डलर दुहेर निकाल्न निकै मुस्किल थियो भित्तामा टाँसेको कामको सेड्युलमा बल्लबल्ल आफ्नो नाम परेको देख्दा अत्यन्त हर्षित भएकी थिएँ ।
त्यहाँको ज्याला दिने प्रणाली बुझ्न पनि कयौँ दिन लाग्यो । हरेक दुई हप्ताको तलबको चेक पाइन्थ्यो । पाएको पैसाले आधारभूत आवश्यकता पूरा गर्नै पनि नपुग्ने थियो । एकजनाको कमाइले तीनजना पालिनु थियो, बचाउन त झन् कहाँ हो कहाँ !
आफ्नो योग्यता र क्षमता अनुसारको काम पाउने स्रोत पत्ता लगाउनै गाह्रो । त्यो सबवे भन्दा अर्काे विकल्प पनि देखिएन त्यहाँ । चिनजानका मान्छे प्रायः सबवेमै काम गर्ने रहेछन् । या त ग्याँस स्टेशनमा ।
धरावासीजीको खुट्टाको समस्या थियो । बुद्धिले भन्दा बलले गर्नुपर्ने काम प्रायः उभिएरै । खुट्टा दह्रा चाहिने । लेखकलाई जेल जत्तिकै भयो घर बसाइ । कहीँ जानु थिएन । मेरो कामको बेठेगान र उहाँको दिनभरि घर बसाइले गर्दा नैराश्यले छुन थालिसकेको थियो । भेला भएपछि एक अर्कालाई हेर्दै भावुक हुन्थ्यौँ । दुवै भन्थ्यौँ – यो हाम्रो रहर होइन, बाध्यता हो । अवाक् थियौँ । स्थिति तनावपूर्ण हुन्थ्यो । त्यहाँको अवस्था देखेर अरू साथीहरूको सल्लाहमा अलिक बाक्लो नेपाली समुदाय साथै कामको अवसर भएका ठाउँतिर सर्ने मनस्थिति बनाउनु भएछ उहाँले । नेपालबाट दोस्रोचोटि अमेरिका पस्दाखेरि पुरानो ठाउँमा नगईकन भर्जिनियातर्फ ओर्लनु भयो ।
उहाँले केही समय बसेर त्यहाँको वातावरण बुझेपछि मैले पनि सानो छोरा सहित भर्जिनियातिरै जान झोला कसेँ । आफन्तको काख छाडेर जानु छ, अझै झन् गाह्रो हुने पो हो कि, डर लागिरह्यो । गह्रौँ मन पारेर बिदाइका हात हल्लाएँ र लागेँ अर्काे स्टेटतिर । त्यहाँको बातावरण बुझ्न केही समय लाग्यो नै । ताईको माछा भुङ्ग्रोमा परे जत्तिकै हो – अमेरिकामा एउटा स्टेटबाट अर्काे स्टेटमा सर्नु, अझ त्यसमा पनि भर्जिनिया पस्नु, भन्थे अरू । झन् डर लाग्थ्यो । त्यस्तै पनि लाग्थ्यो प्रारम्भमा ।
माकुराको जालोझैँ बाटाहरूमा गाडी कुदाएर खानु भनेको ठुलै जोखिम उठाउनु थियो । लामो ड्युटीमा सङ्घर्ष गर्दागर्दै मेरो ढाडको नसा चेपिई सकेको थियो अलावामै । पछाडिपटि कम्मरको बीचमा दुखिरहन्थ्यो । हुँदाहुँदा दाहिने खुट्टातिर सरेर भुइँमा टेक्दा आगोले पोलेको जस्तो झनननन झन्किई रहन्थ्यो । हरेकपल हातले हिर्काइरहनु पर्ने तिघ्रामा । लाग्थ्यो, बटुकामा पानी राख्यो भने पनि उम्लिेला जस्तो ! सुत्दासम्म पनि आराम भएन । निदाउनै गाह्रो । तनावले सधैँ टाउको दुखिरहन्थ्यो । पेन किलर खाँदै उज्यालो पार्न खोज्थेँ अनुहार । ऐनामा आँखा पुगे भने पनि रुन मात्र आउँथ्यो ।
स्टेट फेरेपछि स्वास्थ्य इन्सुरेन्स पाउन नौ महिना लाग्ने रहेछ । चेक जाँच गर्न जान पाइएन । प्राइभेटमा जाँदा खर्चले धान्न नसकिने । एकपटक त गएँ पनि । परामर्शको लागि मात्र चारसय डलर तिरेर आएँ त्यो अभावको बेला । अनि खालि दुखाइ कम गर्ने दबाई किनेर खाँदै काम खोज्नका लागि मनलाई बलियो बनाउदै गएँ । काम गर्नै पर्ने बाध्यता थियो । जबरजस्ती अनुहारमा खुसी बटुलेर कामको खोजी गरेँ । अनलाइनमा जति फारम भरे पनि कहिल्यै बोलाएन । अन्त्यमा पर्शुराम भण्डारीको सहयोगले भर्जिनियामा पहिलो कामको थालनी गरियो ।
एउटा अमेरिकन पन्जाबी परिवारमा मैले काम पाएँ बच्चा हेर्ने । अन्तरवार्ताको लागि पुग्दा काखीमा नानी च्यापेकी युवतीले भनी–‘आन्टी बच्चा धेरै ज्ञानी छ, दुःख दिँदैन ।’ आफनो बच्चाको गुणगान गाउन लागी । आफ्नो बच्चा कसलाई मन पर्दैन र ? हेर्दा पनि फूलजस्तो सुन्दर बच्चा देख्ने बित्तिकै मलाई पनि मन पर्यो तर उनीहरूलाई पनि म मन पर्नु पर्यो नि ! दुई हप्तापछि मात्र काम थाल्नुथियो । घर बसुन्जेल त्यही बच्चो आइरह्यो दिमागमा ।
त्यहाँ पुग्न मूल सडकमा निकै जोखिम मोलेर बाटो काट्नु थियो । बगेको खोलोझैँ अविरल आउने गाडीहरूबाट जोगाएर लानु थियो आफ्नो गाडी । बानी हुनको लागि सुरूमा एउटै बाटो धेरैचोटि ओहोरदोहोर गरेँ । बाटो देख्न सजिलो पार्ने साधन रहेछ जिपिएस भन्ने । सबैका सल्लाहमा किनेर पुग्नु पर्ने ठेगाना सेट गरियो । कति सजिलो भयो, भयो । पुरानो ठाउँमा त्यसबारे जानकारी नै थिएन ।
काम सुरू भयो । एउटा केराको कोसो र स्याउ झोलामा हालेर गाडी चलाएँ जानलाई । बिहानको आठ बज्दा पर्खिरहेका हुन्थे, हिँड्न तयार गर्दै आफनो काममा उनीहरू । ढोकाको लक खुल्लै हुन्थ्यो प्रायः मेरो लागि । सरासर भित्र पसी हात धोएर भान्सामा लागीहाल्नु पर्ने, शुभ बिहानीको अभिवादनसँगै । उनीहरूलाई नास्ता र दिउँसोको लागि खाना बनाई दिन हतार हतार गर्नुपर्थ्यो । ठूलो तीन तले घर थियो । म भान्सामा हुँदा दोस्रो तलाबाट साना केटाको आवाज पनि ठोकिरहन्थ्यो मेरो कानमा । अघि उठिसकेको हुन्थ्यो ऊ । बिहान बाबुआमालाई अल्झाइरहन्छ, तयार हुन दिँदैन । छोड्छन् भन्ने पनि बुझेको हुँदो हो । प्रायः उसलाई छक्याउँदै तयार हुन्छन् । मायालु भाकामा उसलाई भन्छन्– ‘गो डाउन् आन्टी इज हिअर ।’ ऊ मान्न तयार हुँदैन । एकछिनपछि छोड्छन् भन्ने उसलाई डर र चिन्ता छ । आफ्ना बाउआमा हुँदाहुँदै को मान्छ त अर्कासँग !
मान्छे जन्मेपछि उसको जीवन सुरु हुन्छ रुनुबाट । सानो छउन्जेल रोइदियो, घुर्की लगायो, भनेको जस्तो नपुर्याए भुइँमा लडीबुडी गर्दियो । आहा ! कति मज्जाका दिन । आफूले पनि त्यस्ता दिन काटेँ हुला र ? जस्तो लागिरहन्छ । परिस्थिति पृथक थियो । होश सम्हालेदेखिका ती दिन सम्झँदा पनि कति आनन्द ! पहाडमा जन्मियो काम गर्न सक्ने हुन नपाउँदै धेरै आइसकेका थिए जिम्मेदारीहरू । अहिलेका बच्चाको जस्तो कहाँ थियो हाम्रो समय ? घर बाहिर र भित्रको काम थिए हाम्रा । यो त अमेरीकी बच्चो !
श्रीमान्, श्रीमती र सानो छोरो भएका यिनीहरूका कहिले को, कहिले को, पाहुना आइरहन्छन् । कोही लामो समयसम्म बस्छन् पनि । आमाबाउ आउँछन् इण्डियादेखि । मैले त्यहीँ काम गर्दागर्दै रोटी पकाउन सिकेँ । त्यस्तै विभिन्न परिकार पनि पकाउन सिकेँ । मैले कहिले पनि यो मात्र मेरो काम हो भनेर भनिनँ । मेरो इमान्दारिता देखेर उनीहरू कहीँ घुम्न गए पनि केही न केही ल्याइदिन्थे । बोली नै नफुटेको सानो नानी बिस्तारै तोते बोल्न थाल्यो । दिनभरि आफैँसँग भएको हुनाले उसले मलाई बोलाउँदा पनि मम्मा भनेर बोलाउँथ्यो । मलाई उसले भनेको त्यो शब्द सुन्दा आफ्नै छोराको याद आउँथ्यो । भरखर बोली फुट्न थालेको बच्चालाई छाडेर बेलायत गएको याद आउँथ्यो । अहिले त ऊ हुर्किएर ठूलो भएको र आफैँसँग थियो तर उसको बालककालको त्यही समयको अनुभव चाहिँ दुर्लभ थियो ।
बेलायत छँदा जर्ज र डाफ्नी ह्यारिसले अचम्मसँग मनाइदिएको मेरो जन्मदिन मानसपटलबाट कहिल्यै नगए जस्तै सिम्रनहरूले पनि मनाइदिएको जन्मदिनको सम्झना दिमागमा अझै छँदैछ । कामका सुरमा आफ्नो जन्मदिन बिर्सँदै गरेको बेला आफैँले हेरेको सानो बच्चाले जन्मदिनको शुभकामना भन्दै हातमा खाम दिएको अनि सिम्रनले फलफूलको केक काट्न लगाएर भावविभोर बनाएका थिए । उनीहरूले मलाई कहिले पनि काम गर्ने मान्छेका रूपमा हेरेनन् । आफ्नो परिवारको सदस्यझैँ व्यवहार गरे । आन्टी सम्बोधनबाट सुरू भएको त्यो नाता अहिलेसम्म पनि कायमै छ ।
त्यत्तिका असल परिवार भेटिइरहँदा बेलायतमा हुँदा घनी नामकी एक पाकिस्तानी महिलाकोमा काम गरेको याद आउँथ्यो । त्यो जत्ति दुच्छर त कुनै महिला पनि भेटेको छैन ।
दिनहरू त्यतिकै बितिरहे । मैले त्यो फूलजस्तो बच्चाको जिम्मा लिएर सँगै समय बिताएको पनि २ वर्ष भएको थियो । यस्तो बच्चा छाडेर काममा जानुपर्ने कस्तो बाध्यता होला उनीहरूको पनि ! उनीहरूको बाध्यतासँग आफ्नो विगत पनि खर्लप्पै आइरहन्थ्यो । मैले आफ्नो बच्चा छाडेर वर्षौँ अर्काको देशमा कडा परिश्रम गरेकी थिएँ ।
सुरुमा बच्चा मात्र हेर्ने काम भने पनि दिनभरि रहँदा बस्दा पकाउने, सफाइ गर्ने, लुगा मेसिनमा हाल्ने, झिक्ने, पट्टयाउने, आइरन गर्ने, भ्याकुम लाउने – कति हो कति काम लाम लागेर आउन थाल्थे । बच्चाले झन्झन् काम बढाइदिन्थ्यो, उसलाइ न्वाई दिनु, तेल मालिस गर्नुपर्थ्यो । पहिले युकेमा पनि अरूका बच्चालाई तेल मालिस गरिरहँदा आफ्नो बच्चाको याद आइरहन्थ्यो । लाग्थ्यो, यो मालिस मेरो बच्चासम्म पुगोस् । अहिले पनि त्यही झल्को आइरहन्थ्यो – सन्तान बढेको कहिल्यै देख्दैनथ्यो आमाको मन ।
चार पल्टसम्म डाइफर फेरिदिनु र सफा गर्नुपर्ने हुन्थ्यो । आफ्नै बच्चा सम्झी घिन केही नमानी काम सम्झेर गरिरहेँ, केही कुराको कमी हुन दिइनँ । त्यति गर्दा पनि ऊ रोएमा डर लाग्थ्यो । बच्चाको जिम्मा लिनु असाध्यै ठूलो जिम्मेवारी थियो त्यो । कुट्नु त के, गाली गर्न पनि मनाही थियो । बालबच्चा र बूढाबूढीको साह्रै होशियारपूर्वक हेरविचार गर्नु पहिलो प्राथमिकता थियो । सरकारी कानुन थियो । चारैतिर सिसिक्यामेरा जडान गरेका हुन्थे । त्यस्को कनेक्सन उनीहरूको मेबाइलमा हुन्थ्यो । सबै छर्लङ्गै देख्न सक्थे । बच्चा सुतेको बेला, घरका सबैका लागि बेलुकाको खाना, रोटी वा अरू कुनै चीज बनाई दिनुपर्ने । पकाएर मात्र हुँदैनथ्यो, ती भाँडाकुँडा सबै माझेर यथास्थानमा राख्नुपर्थ्यो । बेलुका ६ बजे मात्र उनीहरू आइपुग्थे । आएर पनि कहिलेकाहीँ चिया–खाजा बनाई माग्थे । आफूलाई भने कतिखेर त्यो जेलबाट मुक्त हुनुजस्तो लाग्थ्यो ।
दिउँसो बच्चोसित खेल्दै लुगा पट्याउँदै आफ्नो अतीत सम्झिरहन्थेँ । बढी याद आफ्नै आमाको नै आउँथ्यो । आमा ! तपाईँका त्याग, तपस्या र बलिदानले नै आज म यो तपाईँले कल्पनासम्म पनि नगरेको ठाउँमा आइपुगेकी छु । अमेरिका गएपछि म डेण्टल क्षेत्रमै काम गर्न सक्छु भन्ने अठोट त थियो तर परिस्थिति त्यस्तो रहेनछ । मैले फेरि सुरुबाटै पढेर सर्टिफाई गर्नुपर्ने रहेछ । त्यसको लागि केही समय लाग्ने रहेछ । सिम्रनले ‘आन्टी, तिमी सक्छ्यौ, धैर्य गर’ भन्दै ढाडस दिन्थिन् । बालबच्चा र वृद्धा आमा–बाको स्याहार सुसारमै बित्यो अमेरिकी समय । अमेरिकामा फेरि पनि सेतोकोट लगाउने रहर पूरा गर्न पढी सर्टिफिकेट त पाएँ, पुनः क्लास लिएर काम पनि पाएको हो तर त्यो कमाइले घर चलाउन सक्ने थिएन । कडा परिश्रमपट्टि नै जानुपर्यो ।
इन्सुरेन्स अप्रुभ भएपछि एमआरआइ गर्दा थाहा भयो मेरो ढाडको डिस्क लोकेटेड भएर नसा चेपिएको रहेछ । दुखाइ कम गर्न भनेर एउटा सुई लगाइदियो । दुई हप्ता काँढो झिकेझैँ भयो । केहीपछि उस्तै दुखाइ । फेरि अर्को अन्तिम कोसिस भनेर उस्तै इन्जेक्सन हानिदियो । केही काम गरे पनि पूर्णरूपले निको भएन । उपचारका लागि धेरै ठाउँ धाएँ– शल्यक्रिया नै अन्तिम विकल्प हो भने । अमेरिकाको यो ठूलो उहपारलाई अरू नै उपचार विधिबाटै आराम पाउने अपेक्षा राख्दै पर्खिरहेकी छु, विगत सम्झँदा मात्र पनि ऐँठन हुन्छ । स्वास्थ्यभन्दा ठूलो कुरा अरू के नै छ र ? यसरी स्वास्थ्यले साथ नदिएपछि स्वदेश फर्केर अहिले आराम गरिहेकी छु । सुखदुःख जे पर्दा पनि आमाको काखै प्यारो, विदेशिनु त बाध्यता हो ।
पलपलको दुःख र सङ्घर्षबाट लुछेर लिएको सानो खुसी नै रहेछ जीवन त ।
प्रतिक्रिया