जनादेश आत्मसाथ नगर्ने राजनीति !

जनादेश आत्मसाथ नगर्ने राजनीति !



मूलधारका दलहरु र यसको नेतृत्वलाई स्थानीय निर्वाचनको परिणामले आफूलाई सच्चाउने थप समय र अवसर प्रदान गरेको छ । परिणाम आफ्नो पक्षमा ल्याउन र आफ्नो खास मान्छेलाई अबसर दिलाउन भए गरेको कसरतहरु गलत छन्, त्यो प्रवृत्ति र सोचलाई परास्त गर्नुपर्छ भन्ने अभिमत खास खास ठाउँका सचेत मतदाताहरुले प्रकट गरेका हुन् । दूरदराजदेखि तह तहका निर्वाचनहरुमा यस किसिमको जनादेश प्राप्त भएको छ । राजनीतिक नेतृत्वप्रति गम्भीर अविश्वास र असन्तुष्टि छ भन्ने छर्लङ्ग नै भयो । त्यही बुझेर होला, एक्लाएक्लै चुनाव लड्ने आँट देखाउन सकेका छैनन् । ठाउँ विशेषमा नेतृत्वको निकट भएर प्रभाव पार्न खोज्नेहरुलाई दलाली गर्नेहरुलाई र अनियमितामा रमाउनेहरुलाई जनताले अस्वीकार गरेका छन् ।

काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी, जनकपुर, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा नेतृत्वको आदेश पराजित भएको छ । यसतर्फ मूल नेतृत्व गम्भीर छैन । उसलाई आगामी संघ र प्रदेशको निर्वाचनको चिन्ता मात्र छ । त्यो निर्वाचनमा आ–आफ्नो स्वार्थ अनुकूलको परिणाम निकाल्न सकियो भने पाँच वर्ष फेरि ‘भाले’ हुन पाइन्छ भन्ने छ । जनताको इच्छा, आकांक्षा र भावना होइन, आफ्नो स्वार्थ, परिवारको सदस्यको व्यवस्थापन र आर्थिक सम्पन्नताको निम्ति जुनसुकै मूल्य चुकाउन, जतिसुकै बद्नाम हुन पनि तयार छ– हाम्रो नेतृत्व । त्यसैकारणले पनि हुनसक्छ मूल धारका मुल मुल दलहका मुल मुल नेताहरुलाई आगामी निर्वाचनमा पराजित गराउनुपर्छ भन्ने अभियान सुरु भएको हुनसक्छ ।

सम्पन्न निर्वाचन परिणामको सन्देश र मर्म के हो ? भन्ने तर्फ व्यापक छलफल आवश्यक छ । तर त्यस्तो कठिन र अलोकप्रिय कार्य आवश्यक ठानिएको छैन । थोरै कमजोर किसिमले उठेको आवाजलाई अनुशासनको डण्डा देखाएर दबाउन खोजिएको देखिन्छ । कतै अनुशासनको कारबाही भयो भने मेरो सपना चकनाचुर हुन्छ भन्ने भयग्रस्त मानसिकता राखी प्रस्तुत हुने ‘सस्तो लोकप्रियतावादमा’ रमाउने जमातले गर्ने भनेको अन्ततः आफ्नो निरीह स्वार्थको प्रचारवाजी मात्र हो । आफ्र सत्तामा पुग्नुप¥यो, भ्रमिकामा रहिरहनु प¥यो, सजिलोसँग प्रयाप्त आर्जन हुनुप-यो । आफ्ना मानिसको इच्छा अनुसारको ‘भोजन’ सुरक्षित हुनुप¥यो भन्ने भन्दा लामो सोचाइ कसैको नै देखिएन, महसुस भएन । आफू, आफूपछि परिवारको सदस्यलाई हस्तान्तरण र व्यवस्थापन नै खास चरित्रको रुपमा देखियो । तलदेखि माथिसम्म त्यही पात्र र प्रवृत्ति कुनै न कुनै किसिमले स्थापित हुँदै आएको छ ।

आम मानिसले यसलाई कसरी ग्रहण गरेका छन् ? वैचारिक, सैद्धान्तिक राजनीतिको अवस्था के छ भन्नेतर्फ कांग्रेस, कम्युनिष्ट, मधेशवादी, राप्रपा कसैको ध्यान गएको छैन । हामी लोकतान्त्रिक शासन प्रणालीको अभ्यासमा छौं, यसमा न्यूनतम मूल्य र मान्यताप्रति इमान्दार बन्नुपर्छ भन्ने चेतना नै देखिदैन । केवल लेनदेन, स्वार्थ, भागवण्डा र खानपिनको मात्र विश्लेषण र समीक्षा हुन्छ । मोटो रकम खर्च गरेर निर्वाचन जित्ने अनि साधन र श्रोतको दोहन गरेर अधिकभन्दा अधिक मुनाफा कमाउने व्यापारको रुपमा राजनीतिक व्यवसाय चलेको छ । त्यसकै प्रतिरोध देशको विभिन्न ठाउँमा भएको हो स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई अत्याधिक मतले जिताएको वास्तविकता मनन गर्न बहालवाला राजनीतिक नेतृत्व तयार छैन । द्रव्य र बाहुबलको आडमा र संरक्षणमा आफ्नो वर्चश्व कायम राख्छौं भन्ने अहंमता र दम्भ छोटेमोटे सबै दलको नेतृत्वमा सवार छ ।

भोलि निम्त्याउने संकट व्यवस्थापन धेरै कठिन पनि हुनसक्छ भन्नेतर्फ ध्यान पु-याउन नसक्नु दूरदृष्टिको कमी नै हो ।

सुधारको मागप्र्रति ध्यानकर्षण भएकै छैन । सत्तरी वर्षमाथि गएकाहरुलाई बुढेसकाल व्यतित गर्ने रमाइलो थलो बनेको छ– राजकाज र राज्य व्यवस्था । आफ्नो आवश्यकता, क्षमता र प्रभावकारिता कति छ ? कतिसम्म काम गर्न सक्छ भन्ने अनुमान नै छैन । सत्ताको चरम दुरुपयोग, लुटपाट र मनोरञ्जन मात्र भइरहेको छ । तर पनि कहिकतैबाट, पार्टीभित्र्रैबाट, बाहिरबाट त्यसको संगठित प्रतिरोध र प्रतिवाद छैन । जनस्तरबाट भएको विद्रोह अवज्ञा, अस्वीकृति र अस्वीकारलाई आत्मसाथ गर्ने संस्कार पनि देखिएन ।

देशभरिका सचेत नागरिकले प्रत्येक निर्वाचनको सन्देश सग्रह गरेका छन् । बोलेर, नबोलेर वा मताधिकार प्रयोग गरेर आ–आफ्ना चाहना, भावना र आग्रह अभिव्यक्त गरेका छन् । त्यसलाई नबुझनु दल र यसको नेतृत्वको कमजोरी मात्र होइन, नालायकीपन पनि हो । कसैले न कसैले त बुझ्नुपर्छ नि ! सम्वोधन गर्ने प्रयास गरेको अनुभूति हुनुपर्दैन ? भोलिका कर्णधारहरुलाई कलिलैमा विदेशको सेवक बन्न पठाउने, रोजगारीको नाउँमा हात पाखुरा बलिया भएकाहरु खाडी र कतार जानुपर्ने उनीहरुले नै पठाएको विप्रेषणबाट चलेको अर्थतन्त्रभित्र पनि चरम भ्रष्टाचार गरेर दलाल, तस्कर र माफियाको व्यवस्थापन, चलखेल र खटनपटनमा ठेकेदार, डन, व्यापारी र सीमित नेतृत्वको परिवारका सदस्यहरुले साधन, श्रोत तथा अवसरमा एकाधिकार जमाउने नियति भोग्नु परेको छ । यस्तो दर्दनाक अवस्था लामो समय चल्दैन ।

क्षणिक लाभ लिएकाहरुप्रति जनआक्रोस उर्लिने छ । त्यसमा पनि असम्भव सपना बाँडेर घर, परिवार र समाजलाई ध्वस्त बनाउने कलकलाउँदा बालिकसमेत नभएका केटाकेटी, युथ तन्नेरीसमेतलाई हतियार बोक्न लगाएर युद्धमा होम्ने, अपांगता भएका, घाइते र शहिद बनाउने अनि आफू र आफ्नो परिवारलाई मात्र सुख, सुविधा र सत्ताको भोगाधिकार दिलाउनेहरुप्रति जनआक्रोस अझ बढ्ने छ । यसले भोलि निम्त्याउने संकट व्यवस्थापन धेरै कठिन पनि हुनसक्छ भन्नेतर्फ ध्यान पु¥याउन नसक्नु दूरदृष्टिको कमी नै हो ।

यहाँ त सबैभन्दा शक्तिशाली नै व्यक्ति देखिए । पद्धति, प्रणाली र संस्थाहरु निरीह र कमजोर सावित भए । दलको निर्णयलाई चुनौति दिने, दलबदलको धम्की दिने, अनुशासन र इमान्दारिताको खडेरी पर्ने, विदेशी प्रभाव अधिक हुने, राष्ट्रका गोप्य निर्णय र सूचना सबैभन्दा पहिला विदेशी शक्तिकेन्द्र तथा जासुसी संस्थाहरुले पाउने, पार्टी मिलाउने, टुक्राउने, फुटाउने, सुक्ष्म व्यवस्थापन गर्ने र त्यसमा रमाउने प्रवृत्ति हरेक क्षेत्रमा हाबी भएको देखिन्छ । यो राष्ट्रिय सार्वभौमिकतामाथिको गम्भीर संकट, खतरा र समस्या हो । आफ्ना निजी स्वार्थहरुका अगाडि राष्ट्रिय मुद्दा गौण ठान्ने राजनीतिकर्मीहरु निर्णायक हुँदासम्म यस्तै हुने देखिन्छ । इमान्दारिता र सच्चाइ पराजित भइरहने नियति नेपाल व्यहोर्दै छ ।