अँगेनुको वरिपरि तिनीहरु बसिरहेका छन्– बज्यै बदेनीदेखि नातिनी बदेनीसम्म । तीन पुस्ते फूल एउटै मालामा उनिएका । जसले टिपे पनि हुने फूल । जसले चुँडे पनि हुने फूल । जसले गर्धनमा झुण्ड्याए पनि हुने फूल । वर्षौंअघि बज्यै बदेनी फूल चुँड्नेले आज नातिनी फूल चुँड्छ । यो स्वाभाविक हो । फूल, फूल हो । यसमा बास्ना छैन । बासी फूल ओइलिन्छ । नयाँ फूल मान्छे टिप्छ । फक्रन पाएको छैन, मान्छेलाई चुँड्न हतार, निमोठ्न हतार । कति हतार, कति हतार !!
तिनीहरु प्रतीक्षा र परीक्षामा बसेका छन् । परीक्षाको घडी एकदिनमा बीसपल्टसम्म हुनसक्छ । कसैले भन्न सक्तैन । अनि प्रतीक्षा, यो त पुस्तौँदेखिको हो । जीवन प्रतीक्षामा नै बित्छ ।
अँगेनुमा आगो छ । चिसो काठ पत्पताइरहेको छ । आँखाबाट आँशु झारेर तिनीहर बसिरहेका छन् । चौध वर्षे नातिनी बदेनी भन्छे, ‘बजै, आँखा पिरो भयो, म सुत्न जान्छु ।’ नातिनी बज्यैको स्वीकृतिबिना अँगेनु छोड्न सक्तिन । त्यसलाई थाहा छ, यस घरकी सर्वेसर्वा यही बज्यै हो । आमाहरु त बज्यैको इच्छाअनुसार चल्छन् भने त्यसको त के कुरा !
नातिनीको मर्का ऊ बुझ्छे । त्यसको उमेर पार गरेकी छ बूढीले । त्यसलाई सुत्न जानका लागि स्वीकृति दिन मन लाग्छ तर बूढी बेदेनी एक छिनमा नै आफ्नो विचार बदल्छे र भन्छे, ‘भोलि भोकै मर्नु छ भने जा !’
यसबाट धेरै कुरा थाहा हुन्छ । यसबाट अर्थ निकाल्न सकिन्छ । भोकलाई शान्त पार्न चामल चाहिन्छ । तरकारी चाहिन्छ । नून, तेल चाहिन्छ । भोक शान्त पारेर मात्र भएन, निर्वस्त्र बस्न मिलेन । सारी चाहियो, चोलो चाहियो । कानमा नक्कली गहना चाहियो । रातो लिपिस्टिक त अनिवार्य नै भयो । नत्र कसरी चिनाउने ? अँगेनुमा बाल्न दाउरा चाहियो । अँगालोले मात्र पुग्दैन, राति सुत्दा सिरक चाहियो ।
नातिनी बोल्दिन । बिँडी निकाल्छे । अँगेनुमा झोस्छे र तनक्क तान्छे । बज्यैका चाउरिएका गालामा हेर्छे । बज्यैले अकारण बस् भनेको अवश्य पनि होइन । कोही आउँदैछ । कोही आउनेछ । आङ सिरिङ्ग हुन्छ । त्यसको कल्पनाले नै गर्दा । त्यो बल निकालेर बिँडी तान्छे, धपक्क पार्छे ।
‘त्यो जान्छे भने जाओस् न त, हामीहरु छँदैछौँ नि !’ छोरी बदेनी प्रस्ताव राख्छे । ऊ पनि आफ्नी आमाका अगाडि निर्देशन दिन सक्तिन । आफ्नी आमाको तालिममा हुर्के–बढेकी छोरी, त्यही पदचापमा चलिरहेकी छोरी तर आमाप्रति जति स्नेह छ उसको, छोरीप्रति कम छैन । त्यसलाई यो उमेर खेल्ने, खाने हो, खेलाउने होइन । अझ सहर–बजारका मान्छेको कुरा गर्ने हो भने पढ्ने उमेर हो, स्कुलमा पुस्तक च्यापेर जाने । अहिले पुरुष च्यापेर बस्ने उमेर होइन । पुस्तक र पुरुषमा धेरै फरक छ, यो उसले थाहा पाएकी छे । ‘काम चल्ने उमेरसम्म त मैले तेरो पनि वास्ता गरिनँ । तेरी छोरीको त कुरा छोडिदे ।’
बूढी बदेनीका कुरामा प्रतिवाद गर्ने ठाउँ छैन । तिनी शतप्रतिशत सही छिन् । साठी वर्षे बूढी बदेनी । सधैँ खोकिरहने बूढी बदेनी । वर्षौंदेखि राम्रो लुगा लगाउन छाडेकी बूढी बदेनी । यी हाम्री बूढी बदेनी । काममा विश्वास गर्ने बूढी बदेनी । देहलाई नै कमाइको साधन मान्ने बूढी बदेनी । एक दिन एउटा युवक आयो । यसरी नै तिनहिरु अँगेना वरिपरि बसेका थिए । त्यसले भन्यो, ‘जीवनमा कति मान्छे तिम्रा लोग्ने भए, भन्न सक्छ्यौ आमै ?’
त्यस्तो प्रश्नमा तिनीहरु गलल्ल हाँसेका थिए । आफ्नी बूढी बज्यैलाई यस्तो प्रश्न सोध्ने तिनीहरुको आँट थिएन । यस्तो लज्जास्पद प्रश्न एकान्तमा सोध्नुपर्ने थियो तर त्यो अपरिचितले बदेनीको पनि कुनै निजी क्षण हुन्छ, कल्पना नै गरेन । बदेनीका पनि सुखदुःखका निजी क्षण हुन्छन्, कल्पना नै गरेन । बूढी बदेनीले भनी, ‘मोरालाई अगुल्टाले हान्छु अनि ।’
एकछिन अघिको छोरी नातिनीको हाँसोप्रति प्रहार थियो यो । अनि युवकप्रति तीव्र प्रहार । तिनीहरुले बज्यैबाट यति बढी साहसिलो जवाफको अपेक्षा गरेका थिएनन् । बज्यैको यस उत्तरबाट तिनीहरु उत्साहति भए । सबभन्दा ठूली छोरीले भनी, ‘यस्तो फोहोरी कुरा गर्ने भए तपाईं अन्त जानोस् । अन्त नै बस्नोस् ।’
छक्क पर्ने पालो युवकको थियो । जीविकाको साधनलाई तिनीहरु संज्ञा दिन चाहँदैनन् । संज्ञा नै दिँदा ‘फोहोर’ भन्छन् । तिनीहरुलाई थाहा छ, यो काम फोहरी काम हो तर पनि तिनीहरु अगाडि एउटा परम्परा लमतन्न परेर सुतेको छ । त्यसले तिनीहरुलाई घचेट्छ– त्यो फोहोरी आहालमा । त्यसका लागि तिनीहरु प्रयत्न नै गर्छन् । सडकको छेउमा तिनीहरुको घर छ । बाटोमा हिँडिरहेका मान्छे निर्धक्कसँग कमैले हेर्छन् । पल्याकपुलुक हेर्छन् । कोही छैन भने लुसुक्क पस्छन्– यसै गाउँमा ब्राह्मणपुत्रदेखि तल जे प्राप्त हुन्छ शुद्रपुत्रसम्म । तिनीहरुलाई त के छ, जो आए पनि हुन्छ । कहिलेकाहीँ तिनीहरु इशारा गर्छन्, रमाइलोसँग । भर्खरका ठिटालाई इशारा गर्दा मजा आउँछ ।
बूढी बदेनीका सम्पत्ति हुन् यी चारै जना । यिनीहरुको भविष्य बूढी बदेनीमा टल्केको छ । बूढी बदेनीले जति बढी विष पिउँछे, त्यो विष पिउनका लागि आफैँलाई तयार गरिरहेका ।
बूढी बदेनीको जीवन घर र आँगनमा सीमित भएको वर्षौं भएको छ । ठूलाठूला सहरमा गएर नाचेको, गीत गाएको र पैसा कमाएर ल्याएको स्मृतिमा मात्र सीमित छ । अब जे गर्छन्, यिनै छोरी नातिनीले । बुढीको जीवनको आस यिनीहरुमा नै टिकेको छ । अब त बूढी बदेनी यिनीहरुको संरक्षकबाहेक केही होइन । यिनीहरुकी शुभचिन्तक । भलोका लागि नै एक छिन अघि नातिनीलाई सुत्न पठाइन । बूढी बदिनीको खोकी चर्कियो । लगातार खोकी । मूर्छा पर्लीजस्ती भई । खोकी बल्लबल्ल थामियो, त्यसपछि स्याँ स्याँ गरी । विस्तारै भनी, ‘रात धेरै छिप्पियो कि क्या हो ?’
बूढी भए पनि त्यसका कान अझै चनाखा थिए । सरक्क केही वस्तु चल्यो भने पनि पत्तो पाउने । मुसाको आवाज अझै सुन्न सक्ने । घरनजिकै मान्छेको जुत्ता बजेको आवाज त्यसले सुनी । मान्छेहरुले अँध्यारोमा गनगन गरेको त्यसले सुनी ।
‘मैले त्यसै पर्खी भनेको होइन,’ बूढी बदेनी उत्साहित भई । तातो भात सम्झी । जिब्रो फड्कार्दे खान पाइने गोलभेँडाको अचार सम्झी । हाँसीखुसी परिवारका सबै बसेर गफ गर्दै खाएको सम्झी । नातिनीको टाउको मुसार्दै त्यसले भनी, ‘तिमीलाई तिनीहरुले रोजेनन् भने सुटुक्क तिमी सुत्न गए हुन्छ । मेरी प्यारी मायालाग्दी नातिनी । मेरी प्यारी आज्ञाकारी नातिनी । मेरी प्यारी चरीजस्ती नातिनी ।’
बज्यैका ममत्वमा नातिनी लुटपुटिन्छे । बूढो हातको स्पर्शमा अपनत्व छ, त्यसको टाउको त्यसको शरीरलाई कैयौँ हातहरुले मुसारेका छन् । तर ममत्वको स्पर्श भेटेकी छे मात्र बज्यैको बूढो हातबाट । अरुहरुका हात हात नभएर धारिलो वस्तुजस्ता बनेका छन् । उसलाई थाहा छ, यो बूढो हातले उसलाई निमोठ्दैन, ऐठदैन । त्यसमा ऐँठन छैन । उसलाई लाग्छ यी हातहरुले उसलाई सदाकाल मुसारिरहून् । ममत्वको वर्षा गरिरहून् ।
‘मामा, आगो ताप्न पाइन्छ यहाँ ?’ दुइटा युवक ढोकाबाट नै कराउँछन् ।
‘पाइन्छ, पाइन्छ ! आउनोस् न भित्र,’ उनीहरुको त्यो वृत्तभित्र ठाउँ खाली हुन्छ । युवकहरु त्यही मालामा उनिन पुग्छन् ।
तिनीहरु तीस वर्षे छोरीलाई हेर्छन् । तिनीहरु पच्चीस वर्षे छोरीलाई हेर्छन् । तिनीहरु छब्बीस वर्षे छोरीलाई हेर्छन् । तिनीहरु चौध वर्षे नातिनीलाई हेर्छन् । अन्त्यमा मान्छेको पसल थापेर बसेकी बूढी बदेनीलाई हेर्छन् ।
‘बूढी आमै ! यी सब के तिम्रा सन्तान हुन् ? तिम्रो बिँडो थाम्ने ?’
‘हो, बाबु ! हो, हाम्रो कुलमर्यादा कायम गर्ने सन्तान हुन् यिनीहरु ।’
युवतीहरुमा युवकहरुलाई हेर्ने होडबाजी चल्न थाल्छ । जसका आँखा युवतीलाई पर्छ, त्यो ङिच्च हाँस्छे तर तिनीहरु कसैले पनि अनुमान गर्न सकेको छैन, कसलाई युवकले मन पराउँछ । चौध वर्षे युवतीको भने अर्कै विचार छ, नछानिदिऊन् र सुत्न जान पाइयोस् ।
‘चुरोट निकाल !’ उत्ताउली बदेनी अघि बढ्छे ।
युवक उत्ताउलीलाई चुरोट दिन्छ । सूर्य चुरोट महँगो चुरोट । त्यसलाई चुरोट दिँदा बाँकी तीन युवतीहरु पनि हात पसार्छन् । तिनीहरुलाई थाहा छ, यही बेलामा जे मागे पनि पाउन सकिन्छ । पछि कसैले वास्ता गर्दैन । चार जनालाई चुरोट दिएपछि ऊ आफैँ पनि सल्काउँछ । आफूलाई चुरोट निकाल्दा उत्ताउली भन्छे, ‘कस्तो दया नभएको मान्छे, सुतिरहेकी आमालाई दिनु पर्दैन ?’
‘आमाका सन्तान त सबै फरासिला रहेछन्’, युवक अब तिनीहरुलाई फुक्र्याउन थाल्छ । चुरोट माग्दा नै उसलाई तिनीहरु रद्दी नलागेको होइन ।
‘हो बाबु, राम्रा छन्,’ बूढी यस्ता कुरा सुन्नमा अभ्यस्त भइसकेकी छे । ऊ चाहन्छे, कुरा कम गरुन्, काम सकून् र जाऊन् । त्यस कारण कम शब्दबाट नै काम चलाउन खोज्छे ।
‘अनि यिनीहरुका बाबुहरु खोइ त ?’ त्यस घरमा रातको समयमा एउटा पनि पुरुष नदेखेपछि युवक सोध्छ ।
‘रक्सी खान गएका छन्, गाउँतिर,’ बूढी फेरि छोटो जवाफ दिन्छे ।
‘रक्सी खान त हामीहरुलाई पनि मन लागेको थियो,’ युवक प्रस्ताव राख्छ ।
‘अबेर भयो बाबु, नत्र त ल्याइदिनु हुन्थ्यो,’ बूढी सङ्कट टार्न खोज्दछे ।
युवकले अन्त्यमा चौध वर्षे नातिनीमा आँखा गाढ्यो । खेल्ने र पढ्ने उमेरकी नातिनी अँगेनुमा चुरोट तानिरहेकी छे । ओठमा रातो लिपिस्टिक लगाएकी छे– जबरजस्ती जवानीलाई नजिक ल्याएजस्तो ।
युवक त्यस नातिनीको गाला चिमोट्छ– सबैको सामुन्नेमा । त्यसका आमा र हजूरआमाको सामुन्नेमा । त्यस युवकका बलिष्ट हातले दुधेगाला चिमोट्दा त्यसमा रातो डाम पर्छ । नातिनीलाई आनन्द आउँदैन, पीडा हुन्छ । जबरजस्ती हात हटाउँछे र पीडालाई शब्दबाट व्यक्त गर्छे, ‘कस्तो लाज नभएको मान्छे ! आमाको अगाडि जे पायो त्यही गर्ने !’
बाहिर अँध्यारो छ । कुकुर कराएको मात्र सुनिन्छ । अलि परका घरमा हाँसो छ । त्यहाँ खानपिन र काम चलिरहेको छ । दिउँसै ड्राइभरहरु आएको उसले देखेकी थिई । अँगेनुमा नसुत्न भएन । वर्षौं भयो, यहीँ बसेको । युवकहरुले आफ्ना छोरीनातिनीसँग जति भद्दा गफ गरे पनि सुन्न बाध्य छे । यसमा नै उसले विकल्प निकालेकी छे– निदाएजस्तो गर्नु । त्यसका लागि बूढी मुख छोप्छे । युवक नातिनी बदेनीको काँधमा हात राख्छ ।
‘कति भयो, काममा लागेकी ?’ युवक प्रश्न राख्छ ।
‘कति भयो, काममा लागेकी ?’ नातिनी बदेनी त्यस युवकको प्रश्न जस्ताको त्यस्तै उतारेर छिल्याउँछे, गिज्याउँछे । अब छोरी बदेनीलाई थाहा हुन्छ अवस्था । प्रतिक्रिया व्यक्त गर्छे, ‘अब बस्ने भए छिटो गर्नु, रात धेरै बितिसकेको छ । माथि कोठामा जानोस् ।’
माथि कोठामा जानका लागि ऊ आँखा घुमाउँछ । उसका आँखाले भ-याङ खोज्छन् । भ-याङ कतै देख्दैन । प्रश्न गर्छ, ‘कताबाट जाने ?’
नातिनी बदेनी हातमा टुकी लिन्छे । त्यही भित्रपट्टि एउटा माटाको प्वाल छ, त्यसबाट छिर्छे । ऊ पछिपछि छ । प्वालमा हात टेक्छ । भित्र पस्छ । त्यो कोठा बहुत सानो छ । त्यहीँ माथि जाने भ-याङ राखिएको छ । काठको भ-याङ । त्यसका खुड्किला बहुत साना छन् । ऊ हातले समातेर माथि पुग्छ । माथि फराकिलो कोठा छ । झ्यालमा टुकी राख्छे । र, समर्पणको मुद्रामा उभिन्छे । खेल कहाँबाट शुरु गर्छ, त्यसको प्रतीक्षामा छे ।
ऊ सफा ओछ्यानमा बस्छ । यहाँ आएपछि उसलाई आरामको अनुभव भएको छ । धुवाँ छैन, न त बूढीको कचकच । ऊ यहाँ अब जे बोल्न र जे गर्न पनि स्वतन्त्र छ ।
‘कति अग्लो र कति मोटो मान्छे ?’ नातिनी बदेनी खेल शब्दबाट शुरु गर्छे । ऊ आफ्नो भीमकाय शरीरको प्रशंसा नै ठान्छ र जवाफ दिन्छ, ‘तिमी सानै उमेरमा काममा लागेकी कस्ती मान्छे ? अरु काम केही छैन गर्न ?’
‘यहाँभन्दा ठूलो काम के हुन्छ ? हाम्रो त यो पुस्तैनी काम हो ।’
तल अँगेनुमा उसको साथी पालो पर्खेर बसिरहेको थियो । ऊ प्रतीक्षामा थियो । समय कटाउन जबरजस्ती जिस्किरहेको ।
‘अब तिमीहरुमध्ये मसँग को जाने ?’ उसले तिनीहरुलाई स्वतन्त्रता दियो । छोरी बदेनी सम्झी अघिको मान्छेले यही कुरा भनेको भए छोरी अहिले ओछ्यानमा पुगिसक्ने थिई र मीठो सपना देखिसक्ने थिई । अब छोरी कुन अवस्थामा आउने हो, त्यो चिन्ताले त्यसलाई समायो । बूढी बदेनी घुर्न लागेकी थिई ।
तिनीहरुको दुई तले घर नै थियो, सम्पत्तिको नाममा । माथिको कोठा एकछिनपछि काम्न थाल्यो । भूकम्पमा कम्पायमान भएजस्तो । माटो पनि प्रतिक्रियास्वरुप तिनीहरु बसेको ठाउँमा खस्यो । तिनीहरू अनौठो अनुभव गरे । तर कसैले पनि मनको भाव व्यक्त गरेन । छोरी बदेनीको अनुहार सोहोरियो । त्यसको लगत्तै एकछिनपछि चीत्कार सुनियो – मानव चीत्कार । पीडायुक्त चीत्कार । त्यो चीत्कार धेरैबेर त्यहाँ अडेन । बाहिरियो । वायुमण्डलमा फैलियो । वायुमण्डलमा पुगेपछि त्यो चीत्कार चट्याङमा बद्लियो । एउटा आगोको लप्का ! त्यो वज्रनका लागि ठाउँ खोजिरहेको थियो, मडारिइरहेको थियो । सारा प्रदेशलाई नै चर्काउँदै । त्यसपछि त्यो ठाउँको सबैभन्दा महत्त्वपूर्ण भवनमा बज्रियो ।
गाउँलेहरुले भने, ‘धेरै वर्षअघि पनि यस्तैगरी चट्याङ बज्रिएको थियो । त्यतिबेला कलिला बालकलाई मालिकले गोरु बनाएर खेतमा जोतेका थिए । त्यो दिन ती दुवै बालकको मृत्यु भएको थियो ।’ त्यही बेलादेखि नै किंवदन्ती त्यस गाउँमा चलेको थियो, अमानवीयताको चरममा यस्तो हुन्छ । त्यो कुरा सही या गलत कोही छुट्याउँदैनथ्यो ।
बूढी बदेनी अत्तालिएर ब्युँझी । चीत्कार त्यसका कानमा सियोझैँ रोपियो । बूढी जुरुक्क उठी र कराई, ‘मेरी प्यारी नातिनीलाई मोराले मार्यो कि क्या हो ?’ बूढीले रोएको तिनीहरुले नदेखेझैँ धेरै भएको थियो, आज देखे । बूढी अत्तालिएकी थिई र बर्बराउँदै थिई, ‘तिमीहरु गएर किन हेर्दैनौ ? मोराले मार्यो कि क्या हो ?’
चट्याङले घर ध्वस्त पारिसकेको थियो । गाउँलेहरु आगाका लप्का मात्र देख्न सक्थे, असहाय र निरुपाय । बूढीका आँखा रसाएका थिए। बिस्तारै अरुका आँखामा यो रोग सरिसकेको थियो ।
(गरिमा, पूर्णांक १३८, जेठ २०५१)
प्रतिक्रिया