काठमाडौं ।सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई पार्टीबीच फाटो गराउने आशयले सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
दुवै पार्टीका मुख्य सचिव श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गरेर नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण जनाएका हुन्।
विज्ञप्तिमा भनिएको छ, यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् ।
‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो ।’
यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत हो । संयुक्त विज्ञप्तिमा भनिएको छ यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।
अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया