सुर्खेत । ५० शैया विस्तारसँगै मेहलकुना अस्पतालका लागि ६ वर्षअघि नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी के एस के जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण थालिए पनि अहिलेसम्म पनि पुरा भएको छैन ।
आव २०७३ र ०७४ मा २८ करोड लागत अनुमान गरिए पनि निर्माण कम्पनीले २१ करोड १६ लाखमा ठेक्का सम्झौता गरेको थियो । कम रकममा सम्झौता गरेकै कारण भवन निर्माण ढिला भएको स्थानीयको आरोप छ। तीन वर्षमा सक्ने सम्झौता भए पनि हालसम्म ६० प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको हो ।
आव २०७ र ०७७ मा भवन निर्माण सक्ने लक्ष्य लिए पनि अझै ४० प्रतिशत काम बाँकी नै छ । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधीन अस्पताल भवनका पाँच ब्लक छन् । समयमै निर्माण नसकिँदा चौतर्फी आलोचना र गुनासो बढिको छ ।
भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताए । उनले पटक पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माण अलपत्र परेको बताए । सदस्य नेपालीले भने, ‘ठेकेदारले पर्याप्त मात्रामा मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको हो, करोडौँको योजनामा झारा टार्ने शैलीमा काम भइरहेको छ ।’
५० शैया क्षमता भए पनि २२ शैयाको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताए । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ ०७३ मा १५ शैयाबाट ५० शैया विस्तार गरेको थियो ।अब पनि ढिला गरे ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख अमरबहादुर थापाले बताए ।
तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख थापाले बताए ।
प्रतिक्रिया