काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्कीको नाम चर्चामा थियो । चारमध्ये सोविता गौतमले सभामुख बन्न निकै लबिङ गरेकी थिइन् । अब उनी इन्दिराको प्रस्तावक बन्ने भएकी छन् ।
प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रतिनिधिसभाका कुनै पनि सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना आज दिउँसो १ देखि ४ बजेसम्ममा दर्ता गर्न सकिनेछ ।
निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार दिउँसो सवा ४ बजे संसद भवन नयाँवानेश्वरमा प्रकाशित गर्ने कार्यतालिका रहेको सचिव योगीले जानकारी दिए । आज दर्ता भएको उम्मेदवारी अनुसार भोलि उपसभामुखको निर्वाचन हुनेछ ।
सरकारमा रहेका दलहरूले गरेको शक्ति बाँडफाँडको निर्णय अनुसार प्रतिनिधि सभाको उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ ।
प्रतिक्रिया