जय विश्व सिमसार दिवस

जय विश्व सिमसार दिवस



जल होस् वा सिमसार । कुवा, धारा, ईनार होस् वा नदीनाला कोशी । झरना होस् वा पोखरी र ताल तलैया । सबै धर्म संस्कृति जात जातीले सिमे भुमे छठ लगायतका चाडपर्व पुजापाठ गरेर जल, जमीन, जंगल र जीवको पुजा आराधाना गर्दछन् । पंक्तिकार सिमसारलाई हेर्न ढोग्न रमाउन र केही सिक्न भर्खरै विश्व रामसारमा सूचीकृत कोशी टप्पु बन्यजन्तु आरक्ष पुगेको थिएँ । जल, जंगल, जीव प्रतिको मेरो लगाव र भक्तिबाट प्राप्त अनुभव तथा भविष्यको चिन्ता र अपेक्षा उल्लेख गर्दै यो आलेख मार्फत विश्व सिमसार दिवसलाई शुभकामना अर्पण गर्दछु ।

के देखेँ कोशी टप्पुमा
कोशी टप्पु ७ वटा सुन्दर नदीले छेकेर नुहाईदिएर र सजाएर बनाएको स्वर्ग हो । सेतो सफा हिराको कण जस्तो बालुवाका अनगिन्ती टापुहरु टल्किरहेका थिए । चम्किरहेका थिए । कोशी किनारामा पानी सर्प, गोही, कछुवा, माछा, डल्फिन, फिसक्याट्, लगुना र पंक्षीहरु घाम तापिरहेका थिए । कम्युनिकेसनको लागि संगीत भरिरहेका थिए । सफा मौसमले कोशी मुहानको मकालुबरुण हिमाललाई नजिकै ल्याईदिएको थियो । त्यो सुन्दर, सुनसान र शान्त स्वर्गमा टाढा हात्ती र अर्नाका झुण्डहरु बिचरण गरिरहेका थिए । लाग्दथ्यो म पृथ्वीको पृथक प्लानेटमा पौडी खेलिरहेको छु ।

कोशीमा बग्दै जाँदा नराम्रा दृष्य पनि देख्नुपर्यो । हजारौंको संख्यामा अवैध भैंसीहरु आरक्षभित्र छाडिएको । हजारौंको संख्यामा अवैध थारा गाईबस्तुहरु छाडिएको । अत्यधिक चरिचरणका कारण रैथाने संरक्षित जनावरहरुलाई चरण घाँस नपुगेको । स्वास्थ्य प्रतिकुलताले दुब्ला पातला अर्नालाई भैंसीले लखेटिरहेको । अत्यधिक मानव चाप, अतिक्रमण र प्राकृतिक स्रोतको दोहनले बनस्पति, बन्यजन्तु, जलचर बिस्थापित र लोप भएको । गोही, पंक्षीको माछा माझीले मारिदिदा निरास कोशी खाली जस्तै भएको ।

कोशी किनाराका ढिक (बण्ड्) पछाडिको सिमसार खण्डमा व्यावसायिक माछा पालन, तरकारी खेतीमा आकर्षित हुने पन्क्षीहरुले पासो, जाली र बिसादीमा परेर घाईते हुनेदेखि मृत्यूवरणसम्म सहनुपरेको । श्रीलंका टापुमा राजनीतिक, सामाजिकदेखि बिचौलियाहरुको अतिक्रमणले आरक्षको भविष्य कैदि बन्दी जस्तो लाग्न थालेको । हिउँदमा आउने आगन्तुक सयौं प्रजातिका चराहरुको संख्यामा अनपेक्षित ह्रास आएको । सयौं हजारौं बर्ष लगाएर थिग्रिएको अस्थायी टापुमा बल्लतल्ल हुर्किएको बनजंगल रुख घाँसपात ढुंगा गिट्टी बालुवा चोरी निकासी भईरहेको । अस्थिर राजनीतिमा को पानी बहुलाहा नेता आउला र आरक्षभित्र बस्ती बसाउला भनेर माफियाहरु मौकामा चौका हान्न तम्तयारी अवस्थामा रहेको ।

ब्यवस्था परिवर्तन हुँदा पनि मध्यवर्ती क्षेत्रको समुदायको अवस्था सुध्रिएको थिएन । नेता, विचौलिया हुनेखाने भए पनि आम जनताको रोग भोग अभाव अशिक्षा बेरोजगार काहाली लाग्दो थियो ।

स्वर्गको थोरै नर्कको धेरै अनुभूति लिएर पीडामा म घर फर्कें । पीडाको उपचार खोज्न २ हप्तापछि पुनः म कोशीटप्पु पुगें । सिमसार बीचको रुख चढेर त्यहाँ वरिपरिको जैविक विविधतामा ध्यान केन्द्रित गरें । रङ्गीचङ्गी सुन्दर पन्क्षीहरु सिमसारमा चरेको रमेको देखेर खुशीको सीमा रहेन । आगन्तुक चराहरुले सिमसारमा अड्डा जमाईरहेको देखेर हर्षित भएँ । आफूलाई भाग्यमानी सम्झिएँ ।

के सुनें चितवनबारे
नारायणी नदीको घोलमा चोरी शिकारीद्वारा बयस्क आमा गैंडा ठहरै । खाग बेपत्ता । बिद्युतीय धरापमा परेर ४ बर्षको बच्चो गैंडा पनि ठहरै । बिश्व सम्पदामा सूचीकृत नेपालको पहिलो राष्ट्रिय निकुञ्जमा भूमिगत जल भासिदै गएको । मुहानहरु सुकेको । ताल तलैया पोखरीहरु सफाई र रिचार्ज नगर्दा पानी सुक्दै गएको । नदीहरु बिटुलो र बिषाक्त हुँदा जलमा आश्रित दुर्लभ बन्यजन्तु गैंडा, पाटे बाघ, जलचर प्राणीको जीवन धरापमा परेको । बन्यजन्तु आहार र पानीको खोजीमा निकुञ्ज बाहिर निस्कन बाध्य हुँदा मानव-बन्यजन्तु द्वन्द्व बढेको । प्राकृतिक स्रोतको उत्खनन, दोहन र बिनासले बर्षामा बाढी पहिरो डुबानको जलवायुजन्य जोखिम बढेको ।

सबैभन्दा पहिलो प्राथमिकता पाएको श्रोत साधन सम्पन्न निकुञ्जको संरक्षण र ब्यवस्थापन धरापमा पर्दै गएको सुनेपछि चिन्ता बढ्नु स्वभाविक हो । राप्ती र नारायणीले घेरिएको सुन्दर निकुञ्जको सिमसार समस्याले चिन्ता झन् चुलियो ।

बर्दियाको खुस खबर
पीडाको घाउमा बर्दिया राष्ट्रिय निकुञ्जले मलम लगाईदियो । निकुञ्जभित्र सुख्खा क्षेत्रमा कृतिम तालहरु निर्माण गरिएका छन् । सोलार पम्प चलाएर पोखरीहरु निर्माण गरिएका छन् । पोखरी वरिपरिका घाँसे मैदानहरु सफा गरिएका छन् । परिणामस्वरुप एउटै फाँटामा करिब ५ हजार चित्तलका झुण्डहरु देखिन थालेका छन् । खुशी र सुखी बाघ बढेका छन् । गैंडा अघाएर उग्राईरहेका छन् ।

कर्णालीलाई काटेर गेरुवामा कोशीको भँगालो छिराउने तयारी भईरहेको छ । गेरुवाले निकुञ्जलाई अरु सजीव र सुन्दर बनाउने छ । कर्णाली, बबई नदी सफाई र खुशीले बगेका छन् । अतिक्रमणरहित छन् । जलचर थलचर खुशी र सुखी छन् । ब्यवस्थापन र संरक्षणका काम नमूना ढंगले निर्वाह भईरहेको छ । टिमबिल्डिङ र टिमवर्क अरुले सिक्न योग्य छ । उहिलेको मेरो कर्मभूमि र सधैँको मेरो त्यो स्वर्गको शुभ समाचारले मलाई असीम सुखानुभूति भयो ।

पीडाको पनि ठूलो पीडा
२५ बर्ष अगाडि पाएको कायापलट र समृद्धिको आश्वासन । किन आजसम्म सिन्को भाँचिएको छैन । किन झन् दयनीय र कष्टकर छ ती माझी, मुसहर, राउटे, चेपाङ लगायत जल जंगलमा आश्रित आदिबासी समुदायको जनजीवन ? किन निगुरो चोर्नु पर्ने र ज्यान जोखिममा राखेर २० हजारमा गैंडा मार्नुपर्ने ?

शान्तिकामी पूर्व राजा बीरेन्द्रको आदेश स्मरण गरेँ- “प्राकृतिक श्रोतको दोहनमा बिचौलियाको एकाधिकार भयो भने स्थानीय समुदायलाई मर्का पर्ने छ । गरिबीको गाँठो झन् कसिने छ । गरिबीबाट निकुञ्ज वरिपरिका समुदायलाई छिटो मुक्त गर्नुपर्दछ । निकुञ्जका स्रोत साधन लाभबाट वास्तबिक स्थानीय समुदाय लाभान्वित हुन्, बिचौलिया र बसाईसराईवाला टाठाबाठा होइन । तबमात्र निकुञ्जको दिगो संरक्षण र विकास सम्भव हुन्छ ।”
स्व. अधिराजकुमार निराजन सोधकर्ता भएर डल्फिन अध्ययन गर्न आउदा पंक्तिकारले ब्रिफिङ र ७ दिन लामो आतिथ्यता गर्न पाएको थिएँ । उहाँको जिज्ञाशा पनि उही थियो -“निकुञ्ज वरिपरिको गरिबी छिटो हट्नुपर्यो । शोषणरहित समाजको सक्कली अभ्यास हुनुपर्यो । शोषक सहरमा सर्ने, शोषित निगुरोमा आश्रित भईरहने दुखान्त अन्त्य हुनुपर्यो ।”

निकुञ्ज आरक्ष सिमसारका भण्डारण र केन्द्रबिन्दु हुन् । त्यहाँको प्राकृतिक स्रोत उत्खनन् र बिनासमा बिचौलियाको रजगज छ । ज्यान जोखिममा पार्ने गरि निहत्था अबोध स्थानीय आदिबासीको दुरुपयोग भईरहेको छ । पर्साका माननीयले आफ्नो कृषिघरलाई सेफहाउस् बनाएर निस्फिक्री गर्दै आएको चोरि सिकार र श्रोत दोहन त्यसको एउटा ज्वलन्त उदाहरण हो । यो गलत नजीर र पीडाको पनि पीडा नहटेसम्म संरक्षण सम्भव छैन ।

समग्र तस्बीर
नेपालको हिमाली भेगमा ४ वटा रामसार सम्पदा छन्- रारा, से-फोक्सुण्डो, गोसाईकुण्ड र गोक्यो ताल । शुभ समाचार ती सबै तालहरु हिमाली निकुञ्जभित्र नेपाली सेनाको संरक्षणमा छन् । तराईका ४ मध्य कोशीटप्पु रामसार सम्पदाको संरक्षणकर्ता पनि नेपाली सेना हो । १० मध्य ५ वटा यी बिश्व सम्पदाको सुरक्षा जिम्मेवारी प्राप्त गर्नु नेपाली सेनाको लागि गौरवको कुरा हो । यी ५ रामसारको संरक्षण र व्यवस्थापन नमूना हुनुपर्दछ भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यतालाई सेनाले सगर्व स्विकार्नुपर्दछ र तदानुसारको गुणस्तरीय भरपर्दो संरक्षणमा ध्यान दिनुपर्दछ । प्राचिन होइन, आधुनिक संरक्षणको रोडम्याप बनाउनुपर्दछ सेनाले ।

अन्य ५ सम्पदा मध्ये २ वटा मध्यपहाडी भूभागमा पर्दछन् । ईलामको माई पोखरी र पोखराको खण्डिकृत तालहरुको समुह (क्लस्टर अफ लेक) । तराईमा अवस्थित अरु ३ वटा रामसार सम्पदा हुन्- कैलालीको घोडाघोडी ताल, कपिलबस्तुको जगदिसपुर ताल र चितवनको बिसहजारी ताल । यी सबै तालको ब्यवस्थापन र संरक्षण बढाउनुपर्ने टड्कारो आवश्यकता छ ।
सन् १९७१ देखि क्रियाशील रामसार महासन्धीका १६९ मध्ये नेपाल पनि एउटा गौरवशाली र सशक्त पक्षराष्ट्र हो । किनभने नेपाल ०.१ प्रतिशत पृथ्वीको भुगोल ओगटेर जैबिक बिबिधता रक्षा भण्डारणको क्षेत्रमा २५औं धनी देश मानिन्छ । बिशाल पृथ्वीमा सूचीकृत २२२२ ताल मध्ये १० वटा सुन्दर र धनी ताल नेपाल भित्र पर्दछन् ।

रामसार सम्पदा बाहेकका कोशीतटीय क्षेत्र, नदी नाला, कुला, खोल्सा, दलदल, ढाप, हिले पोखरी, माछा पोखरी र धानखेतमा उस्तै धनी छ नेपाल । यदि हामीले पुर्खाको प्रकृति जोगाउन सकेको खण्डमा ।

समग्रमा, नेपालको प्रकृति संरक्षण पहल, प्रयास र उपलब्धि बिश्व मानचित्रमा प्रशंसनीय मात्र होईन उदाहरणीय र कदरयोग्य छ । अथवा, प्रकृति संरक्षण सफलताले राजनीतिक, आर्थिक, सामाजिक, कुटनीतिक चरम असफलता, बिकृति र कुशासनको ढाकछोप गरेर हाम्रो फेस सेभिङ गरिदिएको छ ।

अपेक्षा
संरक्षण सफलता सँगै चुनौतीको पहाड चुलिएको छ । पहिलो चुनौती राजनीतिक अस्थिरता, राजनीतिक हस्तक्षेप र चरम भ्रष्टाचारले समग्र प्रकृति बिलखबन्दमा परेको छ । अर्को भाषामा गरिबी, बेरोजगार, अशिक्षा, रोग, भोक, अभाव प्रकृतिको दुश्मन भएको छ । तसर्थ प्रकृति उद्धार र पुनर्प्राप्तीको चरणमा पुगेको छ ।

बन बिनास, बनक्षेत्र र सिमसारको राजनीतिक सामाजिक अतिक्रमण, प्राकृतिक भन्दा मानबजन्य कृतिम प्रकोप, अस्तब्यस्त सहरीकरण, प्रकृतिअमैत्री पूर्वाधार, वाताबरणीय मूल्याङ्कन बिनाको पानी बहुलाहा बिकास, बढ्दो मानवीय चापका कारण प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहन र बिनासले हिमाल, पानीका मुहान र सिमसार संकटमा परेका छन् । सिमसारको उद्धार भनेको माफिया र बिचौलियाहरुको एकतर्फी शोषणको अन्त्य हो । उनीहरुलाई कानुनी दायरामा ल्याउने राष्ट्रिय नीति र छाता ऐन कानुनको तर्जुमा र कार्यान्वयनले हो । ता कि स्थानीय समुदायले जल जंगलजन्य पारिस्थितिकीय प्रणालीलाई अध्ययन अनुसन्धान गरि उचित र दिगो संरक्षण र ब्यबस्थापन गर्दै प्राकृतिक स्रोत साधनको समान, न्यायसंगत र बुद्धिमतापूर्ण सदुपयोग गरुन र जनजीबिकालाई सहज पार्दै समृद्धिको ढोका खोलून् ।

मुलुकको झण्डै १३ प्रतिशत चुरे क्षेत्रको जल जंगल रक्षा गर्न प्रकृति संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेनाले साहसिक पहलकदमी लिनुपर्छ । चुरेको रक्षा नै अन्नभण्डार तराईको रक्षा हो भन्ने ध्रुबसत्यलाई आत्मसात गरेर सेनाले चुरे बचाउन सक्नुपर्दछ । प्राकृतिक भन्दा मानवजन्य कृतिम प्रकोपले जनधनको अकल्पनीय क्षति हुने गरेकोले बृक्षारोपणलाई सेना लगायत सबै सुरक्षा निकायहरुले प्राथमिकता दिन बिलम्ब गर्नु हुँदैन । बृक्षारोपण मात्र कामयामी हुँदैन । बिरुवा हुर्काएर बन बनाउने सम्मको काममा सुरक्षा निकायको अनुगमन र योगदान रहयो भने मात्र भूमिगत जलको संचिति र प्रबाह हुन सक्दछ । साथै, निकुञ्ज बाहिरका ५ वटा रामसार तालहरुको संरक्षण र व्यवस्थापनलाई स्थानीय सरकार तथा संरक्षण समुदायसँग समन्वय गरेर चुस्त दुरुस्त बनाउने सुरक्षा निकायहरुको योगदान तारिफयोग्य हुने छ ।

उद्धारबिज्ञ सुरक्षा निकायहरुले नदी तालमा पहिला सफाईपछि उद्धार अभ्यास गरेर सिमसारलाई गुन लगाउन सक्ने छन् । कतिपय तालिम केन्द्र, प्रतिष्ठान, ब्यारेकहरुमा जलमग्न पानीका ठुला पोखरीहरु छन् । हरेक ब्यारेकहरुमा अनिवार्य २/४ पोखरी हुने हो भने वाताबरणीय सौन्दर्यता र सन्तुलनमा तिनले पुर्‍याउने योगदान अमुल्य हुने छ । भिर, पहिरो, डढेलो, बाढी, डुबान जस्ता प्राकृतिक प्रकोप नियन्त्रण गर्न पनि सिमसारले प्राकृतिक रक्षाकबचको काम गर्ने छन् । वातावरणीय योगदान र संरक्षण गर्न सुरक्षा निकायहरुलाई कहीँ कहिले कसैको पनि लिखित आदेश र म्याण्डेट जरुरी पर्दैन ।

संघ र प्रदेश भन्दा पनि स्थानीय सरकार र अझ स्थानीय समुदायले आ-आफ्ना जलजन्य क्षेत्र तथा सिमसारको अपनत्व लिने, खोजिनीति, पुनर्प्राप्ती, संरक्षण र ब्यवस्थापन गरेर वातानुकूलित पर्यापर्यटन बिकासको खाका बनाउन सक्ने छन् । जल जंगलको संरक्षण र ब्यवस्थापन उनीहरुको पहिलो प्राथमिकता हुनैपर्दछ । पृथ्वीको मृगौला सिमसारले सबैलाई संधैलाई स्वस्थकर र स्वास्थ्यबर्धक पानी मात्र होइन, जडिबुटी, आहार, रोजगार, सान मान र स्वाभिमान प्रदान गरिरहने छ । जल जंगलको पुजा र रक्षा कलयाण सम्मानले समग्र पृथ्वी र प्राणीजगतको रक्षा कल्याण सम्मान हुने छ । तसर्थ, सिमसार दिवस भोलि एक दिन मात्र होइन, सँधैभरि मनाउँ ।

(लेखक आइयुसिएन सदस्य र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षका पूर्व निर्देशक हुन्)