गाईघाट । उदयपुरगढी गाउँपालिका वडा नं. ७ मा नवनिर्मित बाउन्ना र बलान खोला पुलको उद्घाटन भएको छ । प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले शनिबार पुलको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री चापागाईंले कोल्टे–मैनाटार–बाघखोर सडकको समेत निरीक्षण गरेका छन् ।
उद्घाटन कार्यक्रममा संविधानसभाका पूर्व सदस्य मोहनबहादुर खत्री, प्रदेश–१ उपसभामुख सिर्जना दनुवार, प्रदेशसभा सदस्यहरु नारायणबहादुर बुर्जामगर, राजन किराती, रामकुमार खत्री, गीतादेवी रेग्मी, सम्झना तामाङ र जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मिजार राई, सुरुङगा नगरपालिका उपप्रमुख रुद्रबहादुर कार्की, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्कालगायतको उपस्थिति थियो ।
२०७७ जेठ ११ गते सम्झौता भएको बाउन्न खोलाको पुल इसीसी/केएम जेभी निर्माण कम्पनीले तयार गरेको हो । प्रादेशिक सडक पुल सहयोग एकाइ इटहरीले पुलका लागि प्राविधिक सहयोग उपलब्ध गराएको थियो । ७२ दशमलब १० मिटर लम्बाइ र ८ दशमलब ४ मिटर चौडाइ रहेको पुलमा दुईवटा स्पान रहेको छ ।
उदयपुरगढी गाउँपालिका–७ मा नै पर्ने बलान खोला पुल निर्माणको २०७७ असार ९ गते सम्झौता भएको थियो । सपना निर्माण सेवा हेटौडाले तयार पारेको उक्त पुलको लम्बाइ ३७ दशमलब ४ र ८ दशमलब ४ चौडाइ छ । एउटा स्पान राखिएको उक्त पुलका प्रादेशिक सडक पुल सहयोग एकाइ इटहरीबाट प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।
प्रतिक्रिया