स्पट फिक्सिङ आरोपमा तीन खेलाडीसहित पाँचजनाविरुद्ध मुद्दा दर्ता

स्पट फिक्सिङ आरोपमा तीन खेलाडीसहित पाँचजनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९–२७ सम्म भएको नेपाली टी–२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । 

उनीहरूविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ अनुसारको खेलमा मिलोमतो तथा अनियमितता गरेको भन्दै दफा ३३ बमोजिमको सजाय माग गरिएको छ । मुद्दा दायर गरिएका मध्ये नितेश, मेहबुब र आदिल पक्राउ परिसकेका छन् । कँडेल र माझी फरार छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गएको पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई ‘फिक्सिङ’को प्रस्ताव आएको खुलासा गरेका थिए ।

गृह मन्त्रालयले फिक्सिङ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो । अनुसन्धानका क्रममा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा युवा अलराउन्डर मोहम्मद आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए ।