राष्ट्रपतिको ‘मुभ’ स्वचालित हो या परिचालित ?

राष्ट्रपतिको ‘मुभ’ स्वचालित हो या परिचालित ?



राष्ट्रपतिको उम्मेदवार बनाउने विषयले एकपटक नेपाली राजनीति तातेको छ । पछिल्लो आम निर्वाचनको परिणामले निम्त्याएको शक्ति सन्तुलनको व्यवस्थापन दलहरुलाई ठूलै चुनौति बनेको छ । नेतृत्वमा रहेको चरम सत्ता लिप्सा र व्यक्तिको व्यवस्थापन समस्याको रुपमा देखापरेको छ । निर्वाचनको समयमा कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी सरकार बनाउने बेलामा नेकपा एमालेसँग हातेमालो गर्न पुग्यो । जानकारहरुको भनाइमा नेकपा एमाले र माओवादीलाई मिलाउने काम उत्तरी छिमेकी चीनबाट भएको थियो भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबी नछोड्न दक्षिण छिमेकी भारतले उक्साएको थियो ।

सम्बन्धको दृष्टिकोणले दाहाल र ओली मिल्ने सम्भावना छैन, गठबन्धनको सरकार बन्दा ठीकै छ, त्यो नभए संसदको ठूलो दलको हैसियतले देउवा नै प्रधानमन्त्री बन्ने निश्चित छ भन्ने कुरामा देउवालाई भारतले आश्वस्त पारेको थियो भन्ने चर्चा व्यापाक नै छ । व्यक्तिगत रुपमा भारतसँग देउवाको त्यत्ति राम्रो सम्बन्ध होइन । शक्ति सन्तुलनको आयतनमा कहिले को कहिले को बन्ने बनाउने रणनीति शक्ति राष्ट्रहरुले गरिरहन्छन् । त्यसमा व्यक्तिप्रधान बन्दैन उनीहरुको स्वार्थ, मुद्दा, रणनीति र उद्देश्य प्रधान हुने गर्दछ । माओवादीले गरेको सशस्त्र युद्धमा भारतको ठूलो सहयोग रहेको ज्ञात नै छ । पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईलाई भारतको गुप्तर संस्था ‘रअ’ को संयोजनमा हिड्डूल, आवात जावतमा कुनै समस्या थिएन । नेपालका भौतिक संरचना ध्वस्त बनाउने र मान्छे मार्ने तालिम भारतमा नै दिइएको थियो भन्ने कुरा आजभोलि माओवादीकै लडाकू भन्ने गर्दछन् ।

यसको अर्थ स्वार्थले प्राथमिकता पाउने हो, व्यक्ति गौण हुन्छ । दाहाललाई प्रयोग गर्न सजिलो महसुस भएको हो भने त्यो ठाउँमा अरुको आवश्यकता थिएन । देउवालाई अल्मल्याएर दाहाललाई प्रधानमन्त्री बनाउने योजना भारतकै पनि नहुने भन्ने होइन । चीनको पनि सहयोग रहने, ओलीलाई पनि झुकाउन सकिने विश्लेषणका साथ दाहाललाई प्रधानमन्त्री बनाउने रणनीतिमा दक्षिणी छिमेकी पनि सामेल भएको हुनसक्ने अनुमान गलत होइन । घटनाक्रमबाट स्पष्ट हुँदैछ कि राष्ट्रपतिका निम्ति विश्वासको मत दिएर अगाडि बढ्नुपर्ने संकेत पनि दक्षिणतिरकै होला । ज्यादा दक्षिणी झुकाव राख्ने मधेशवादी दलहरुको समेत विश्वास देखिनु र व्यक्तिगत रुपमा निर्वाचितहरुको मत पनि पाउनु संयोग मात्र होइन ।

यति मात्र होइन, कांग्रेस सभापति देउवालाई राष्ट्रपति बनाउने चर्चा र त्यसको अभ्यास पार्टीभित्रै हुनु पनि अर्को रोचक पक्ष हो । यहाँ देउवासँग प्रतिस्पर्धा गर्ने शेखर कोइराला र उनको समूहका सारथीहरु मात्र होइन अन्य दलका व्यक्तिहरु पनि सक्रिय देखिन्छन् । हिजो प्रधानमन्त्रीको अडान नछोड्न उक्साउने शक्ति आज राष्ट्रपति बनाउन क्रियाशील देखिन्छन् । देउवा नै राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने सम्भावना बढेर गएको हो भने त्यो पनि रणनीतिक नै हो । उत्तर देखाएर दक्षिण हान्ने, दक्षिण देखाएर उत्तर हान्ने फौजी रणनीति नेपाली राजनीतिमा कामयावी हुने देखिँदैछ । यो रणनीतिमा रणनीतिकारहरुलाई सफलता मिल्यो भने उनीहरुले भावी प्रधानमन्त्रीका लागि छनोट गरेको व्यक्ति अर्कैछ ।

यस्तो अवस्थामा ओलीले खेल्ने खेल फरक छ । भारतले रुचाउने पात्र माधव नेपाललाई अगाडि सारेर दाहाल–देउवाको हुर्मत लिने योजनामा ओली क्रियाशील देखिन्छन् । त्यसो भयो भने दक्षिण छिमेकीलाई दुवै हातमा लड्डू हुनेछ । अर्थात् नेपाली राजनीतिमा आफूले चाहेको नतिजा अरुलाई प्रयोग गरेर निकाल्न सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गर्न भारतीय रणनीतिकारहरु सफल हुनेछन् । को बन्ने वा कसलाई बनाउने भन्ने निर्णय नेपालीले गरेको देखिए पनि अरुकै निर्देशनमा हुने निश्चित छ ।

पञ्चायती शासन व्यवस्थामा उत्तरी छिमेकी त्यत्ति सक्रिय थिएन । उसले नेपालको आन्तरिक राजनीतिलाई नजिकबाट हेरे पनि राजासँगको सम्बन्धलाई मात्र प्राथमिकतामा राखेको थियो । त्यो समयमा राजनीतिमा सक्रिय मानिस कि त भारतीय पक्षको मानिन्थ्यो कि त दरबारिया मानिन्थ्यो । बुझ्ने मानिस भन्थे कि फलानो भारत परस्त हो, फलानो दरबार परस्त हो । तर त्यही व्यक्ति कहिले भारतको, कहिले दरबारको त कहिले दुवैको हुने गरेको यथार्थता नेपाली राजनीतिले व्यहोरेको बताउँछन् । अहिले त्यस्तै त्यस्तै देखिन्छ । चीन निकट बुझिएको मानिस भारतको अति प्रिय हुनसक्ने र भारतको प्रिय भनी चिनिएको व्यक्ति चीन निकट हुनसक्ने मात्र होइन दुवै छिमेकीले रुचाएको पनि हुनसक्ने देखिन्छ । आफ्नो व्यक्तिगत स्वार्थको लागि दुवै छिमेकीको प्रिय बन्न तयार हुने प्रवृत्ति बलशाली हुँदै गएको छ ।

देशको हित, उन्नति र प्रगतिको लागि छिमेकीसँग सुमधुर र विश्वासिलो वातावरण बनाउनु अन्यथा होइन, आवश्यक हो तर त्यसो नभएर सत्तामा पुग्ने भ-याङका लागि आफ्नो स्वाभिमान बेच्ने संस्कार र संस्कृतिको रुपमा त्यस्तो प्रवृत्ति देखिएको छ । यसले विश्वासको संकट निम्त्याउने र छिमेकीहरुले आफ्नो अनुकूलको पदाधिकारी खोज्ने, रोज्ने परम्परा स्थापित हुँदै जान्छ । जनताले चाहेको शासन प्रणाली र यसले दिनुपर्ने सेवा, सुविधा र स्वतन्त्रता कुण्ठित भइ अराजक स्थितिको अवस्था आउन सक्छ । हाम्रो राजनीतिक दल र यसको नेतृत्व देशलाई गलत दिशातर्फ डोहो-याउँदै छन् । आफ्नो स्वार्थ पूरा भए देश भाँडमा जाओस् भन्ने सोच, चिन्तन, व्यवहार र कार्यशैली देखिन्छ ।

त्यस्तै हनुमान तयार गर्ने र नेपाली भाइबहिनीहरुलाई पलयान हुन बाध्य बनाउने नीति र योजनामा क्रमशः देशलाई फसाइँदैछ । विदेशिन विमानस्थलमा लाम लागेका कलिला अनुहार हुन या रोजगारीको लागि विदेशिने बलियाबाङ्गा जनशक्ति नै किन नहुन त्यसले नेपालको आन्तरिक शासन व्यवस्थालाई कमजोर र बद्नाम बनाएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विदेशिनुपर्ने भएपछि राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र स्वाभिमानको के अर्थ ? नागरिकहरुका प्रति दायित्व र जिम्मेवारी नै नभएको राज्य किन आवश्यक ? सरकार किन चाहियो ? श्रम गरेर पठाएको विप्रेषण र गरिब देशको नाउमा आएको सहयोगमा चरम भ्रष्टाचार गरी व्यक्तिगत स्वार्थ पूरा गर्न तल्लिन हुने सरकार नागरिकलाई आवश्यक नलाग्न सक्छ ।

राज्य व्यवस्थाका सबै अंग, नागरिक समाज, अन्य संघसंस्था सबै भ्रष्ट, दलाल र माफियाको पृष्ठपोषक भएपछि राजनीतिमा फस्टाउने अवसरवाद नै हो । त्यसका लागि तयार हुने अयोग्य, भ्रष्ट, ठेकेदार र डनहरुकै जिम्मामा क्रमशः देश जाने र अस्तित्व पनि खतरामा पर्ने सम्भावना देखिन्छ । यसकै निम्ति हुनसक्छ, खराबभन्दा खराब मान्छे प्रोत्साहित हुने र खराब भन्दा खराब अभ्यास जारी राख्ने रणनीति अख्तियार गरिएको छ । होइन भने किन यस्तो निकृष्ट अभ्यासमा हाम्रो नेतृत्व लागिरहेको छ ? चुनावमा एउटासँग गठबन्धन, सरकारमा अर्कोसँग ? राष्ट्रपतिको लागि कांग्रेस, प्रधानमन्त्रीको लागि एमाले किन चाहिएको हो ? प्रतिगमनकारी भनिएका ओलीसँग सहकार्य गर्नुपर्ने आवश्यकता किन आइप-यो ? त्यसको जवाफ नदिइ कांग्रेससँग हातेमालो गर्न खोज्ने प्रवृत्तिलाई कसले प्रयोग गरिराखेको छ ? यो प्रवृत्ति स्वचालित होइन परिचालित नै हो ।