सर्वोच्चद्वारा प्रधानमन्त्रीको मुद्दामा कारण देखाउ आदेश

सर्वोच्चद्वारा प्रधानमन्त्रीको मुद्दामा कारण देखाउ आदेश

अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको छ ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।

प्रचण्डको केही पहिलेको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

रिट निवेदनमा उठाइएको विषयको महत्त्व, गम्भीर्यता तथा संवेदनशीलतातर्फ दृष्टिगत गर्दा विवादको निरुपण छिटो र छरितो गर्नुपर्ने मनासिव देखिएको भन्दै न्यायाधीश खतिवडाको एकल इजलासले अग्राधिकार प्रदान गरेको हो । यस्तै सर्वोच्चको आदेशमा निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ ।