प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

मन्त्री छान्न बनायो यस्ताे मापदण्ड



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ । संघीय संसद भवनको शंकर हलमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ । सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि मन्त्रालय टुंगो लगाइने महतको भनाइ छ ।

याेसँगै आइतबार बस्ने संसद बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ । डा. महतका अनुसार सरकारमा सहभागिता भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र हुनेछ ।

आइतबारको बैठकले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्येनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको छ । प्रवक्ता महतले यही मापदण्डका आधारमा नेतृत्वले सबैको सुझाव सल्लाह लिएर ककसलाई पठाउने भन्ने निर्णय गर्ने बताएका छन् ।