पर्वतको गुप्तेश्वर बहुमुखीमा गठबन्धनको प्यानल नै विजयी

पर्वतको गुप्तेश्वर बहुमुखीमा गठबन्धनको प्यानल नै विजयी



पर्वत । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्ता गठबन्धन निकटका विद्यार्थी संगठनको प्यानल नै विजयी भएको छ ।

यहाँ गठबन्धनबाट नेविसंघले सभापति, सचिव र एक सदस्य, अखिल क्रान्तिकारीले कोषाध्यक्षसहित दुई सदस्य पदमा तालमेल गरेर निर्वाचनमा भाग लिएका थिए । एमालेनिकट अनेरास्ववियु भने एक्लै चुनावी प्रतिष्पर्धामा थियो ।

आइतबार सम्पन्न निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीका उमेदवार सबै पदमा विजयी भएका हुन् । निर्वाचन अधिकृत ओमकार गिरीका अनुसार सभापति पदमा नेविसंघका सतिश रेग्मी विजयी भएका छन् ।

उनी १३१ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुकी जोश्ना कुँवरले ५३ मत ल्याइन् । सचिवमा नेविसंघकै लक्ष्मण रेग्मी ११४ मत ल्याएर विजयी भए । उनका प्रतिष्पर्धी अनेरास्ववियुका मनोज पुरीले ७० मत ल्याए ।

कोषाध्यक्षमा क्रान्तिकारीकी पवित्रा नेपाली विजयी भइन् । उनले ११९ मत ल्याउँदा अनेरास्ववियुका अपिल क्षेत्रीले ६५ मत ल्याए ।

सदस्य पदमा पनि नेविसंघबाट पुजाकुमारी पोखरेल, अखिलबाट मनिशा परियार र सविना क्षेत्री विजयी भएका हुन् ।